काठमाडौं । मांसाहारीलाई स्वाद मिठो हुने भएकोले रातो मासुतर्फ आकर्षक छ । तर, यही रातो मासुको सेवनबाट हुने जोखिमबारे धेरैलाई थाहा नहुन सक्छ । थाहा पाउनेले पनि वेवास्ता गरिरहेका हुन्छन् । एक अध्ययनकाअनुसार रातो मासु खाँदा महिलालाई स्तन क्यान्सरको जोखिम बढ्न सक्छ । तर, कुखुराको मासु खानु अलि सुरक्षित छ ।

अमेरिकाको वातावरणीय स्वास्थ्य विज्ञान संस्थानका डेल पी स्यान्डलरले भने, ‘रातो मासुलाई सम्भावित कार्सिनोजेनको रूपमा चिनाइएको छ ।’ यो अध्ययनले रातो मासु खानाले महिलामा स्तन क्यान्सरको जोखिम बढेको देखाउँछ ।अन्तर्रा्िष्ट्रय जर्नलमा प्रकाशित सो अनुसन्धानका निष्कर्षहरूमा रातो मासु खाँदा महिलामा क्यान्सरको जोखिम बढाउने उल्लेख गरिएको छ ।

अनुसन्धानका क्रममा ४२ हजार भन्दा बढी महिलाहरुलाई सहभागी गराएर विभिन्न प्रकारका मासु खान लगाइएको अध्ययनकर्ताहरुले भनेका छन् । अध्ययनका क्रममा धेरै रातो मासु खाएका २३ प्रतिशत महिलाहरुलाई स्तन क्यान्सर र १५ प्रतिशत कम रातो मासु खाएका महिलालाई लागेको भेटियो । रातो मासु स्वादमा मिठो हुने भएकाले यसको खपत बृद्धि हुने भएकाले स्तन क्यान्सरको जोखिम बढेको शोधकर्ताको दाबी छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालका शल्यचिकित्सा अन्कोलोजी परामर्शदाता पराग कुमारले भने, ‘प्रोसेस्ड मासु सामान्यतया रातो मासुले बनेको हुन्छ, तर त्यसमा नाइट्रेट र नाइट्राइट पनि हुन्छ, जुन पछि कार्सिनोजेनमा टुक्रिन्छ। हप्तामा ४५५ ग्राम भन्दा बढी रातो मासुको सेवन नगर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ ।’