काठमाडौं । वाणिज्य विभागका अनुसार एक उपभोक्ताले नख्खुस्थित खाद्य संस्थानको गोदामअगाडि रहेको तरकारी बजारबाट लौका खरिद गरेर लगेका थिए ।

उक्त लौका खानासाथ वाकवाकी लाग्नुका साथै पखाला सुरु भएको थियो । अर्को साथीले पनि सोही पसलबाट लौका लगेर खाएको र बिरामी परेर अस्पताल भर्ना भएको उजुरी वाणिज्य विभागमा दर्ता गराएका थिए ।

सो घटनाका कारण वाणिज्य विभागले लौकाको परिक्षणका लागि प्रयोगशालामा पत्राचार गरेको थियो । खाद्य विभागले पनि वाणिज्यबाट आएको तीनवटा लौकाको विषादी परीक्षण गर्न राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला पठाएको थियो ।

परीक्षणपछि खाद्य विभागले ८७ हजारको शुल्कसहितको बिल वाणिज्य विभागलाई पठाएको हो । परीक्षण रिपोर्टमा प्रयोगशालामा ३ वटा लौकामा २९ किसिमका विषादी अवशेष रहे–नरहेको परीक्षण गरिएको उल्लेख छ । प्रतिपरीक्षण १ हजारका दरले ८७ हजार रुपैयाँ शुल्क लागेको व्यहोरासहितको पत्र खाद्य विभागले वाणिज्य विभाग पठाएको हो ।

६ साउनमा लौकाको विषादी परीक्षण गर्न पठाएपनि यसको रिपोर्ट भने १६ दिन पछि आएको एक कर्मचारीले जानकारी दिए ।

तीन लौकाको विषादी परिक्षण शुल्क ८७ हजाररुपैयाँ आएपछि वाणिज्य विभागका अधिकारीहरु आत्तिएका छन् ।