काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष नाघिसक्दा पनि दोषी पक्राउ पर्न सकेको छैन । तर, यस विषयले आजपर्यन्त सरकारको असफलतासँग छोडिएर हेर्ने गरिएको छ । विभिन्न छानबिन समितिले आ–आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ । प्रहरीका विभिन्न तह र विभागले पनि अनुसन्धान गरिरहेको छ । मन्त्रीहरुले दोषी पत्ता लागिसकेको समेत महिनौँ अघि अभिव्यक्ति दिए । तर, हालसम्म दोषी सार्वजनिक गरिएको छैन ।

तर, अहिले निर्मलाको घटनाको विषयमा निलम्बनमा परेका प्रहरी अधिकृत अंगुर जिसी दुई हप्ता अघि सञ्चार माध्यममा आएर आफ्नो धारणा राखेपछि यसले अर्काे रुप लिएको छ । पत्रकार खेम भण्डारी आफ्नो नातामा पर्ने दिलिपसिंह विष्टलाई जोगाउन लागि परेको जस्ता कुरा बाहिर आएका छन् । निलम्बित डीएसपी जिसी उनै विष्ट निर्मला घटनाको दोषी रहेको जिकीर गर्दै आएका छन् । गलत प्रतिवेदन तयार गरेको आरोपमा सरकारले कारबाही गरेका जिसीले लगाएको विष्टमाथिको आरोप गलत रहेको भन्दै पत्रकार भण्डारीले सञ्चारकर्मी रवि लामिछाने सो घटनाको दोषी उम्काउने खेलमा प्रयोग भएको आरोप लगाए ।

‘विष्ट दोषी हुन् भने पक्राउ किन नगरेको ? उनी कञ्चनपुरमा खुलमखुल्ला हिँडिरहेका छन्’, क्यानडानेपालसँगको कुराकानीमा पत्रकार भण्डारीले भने, ‘रवि लामिछाने परिचालित भए।’ रविलाई आफ्नो पुराना कार्यक्रम हेर्न उनले आग्रह गरेको बताए । उनले निर्मला घटनामा भीआइपीहरुको संलग्नता रहेको बताउँदै आएका छन् । एक वर्षसम्म सामाजिक सञ्जाल र आफूद्वारा सञ्चालिल पत्रिकामार्फत धारणा राख्दै आएका पत्रकार भण्डारी काठमाडौं आएर अन्य सञ्चारमाध्यमबाट निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाबारे बताउन थालेका छन् । यसबारे थप उनै भण्डारीसँग क्यानडानेपालका सन्तोष निरौलाले लिएको यो भिडियो अन्तर्वार्ता हेर्नुहोस्: