राजेन्द्र भट्ट, रोम । १७ बुँदे घोषणा पत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को युरोपियन बैठक सम्पन्न भएको छ । इटालीको रोममा केही दिन यता चलेको एनआरएनए १७ औँ युरोपियन बैठक आइतबार राति १७ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । भूतपूर्व ब्रिटिस गोर्खाले उठाएको मागप्रति समर्थनसहित ऐक्यबद्धता जनाएको सो १७ बुँदेमा नेपालमा १० अर्ब लगानी गर्ने, नेपाल सरकारले गर्न लागेको पर्यटन वर्ष २०२० लाई सहयोग गर्नेलगायत बुँदे समेटिएको छ । सो बैठकलाई नेपाल सरकारका कानुन मन्त्री भानुभक्त ढकालले सम्बोधन गरेका थिए ।

उनले एनआरएनहरुलाई नेपाली नागरिकताको निरन्तरता दिन सरकार प्रतिबद्ध रहेको जानकारी दिए । यसका लागि बनाइएको विधेयक संसदीय समितिको बैठकमा छलफल भइरहेको उनले जानकारी दिए । एनआरएनहरुलाई नेपाली नागरिकता निरन्तरता दिने विषयमा सरकार र राजनीतिक दलहरु सहमत रहेकाले ढुक्क हुन मन्त्री ढकालको आग्रह छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि एनआरएनहरुलाई नेपाली नागरिकतालाई निरन्तरता दिने विषयमा विवाद नरहेको जानकारी दिए ।

विभिन्न सेसनमा गराइएको छलफलमा एनआरएनहरुलाई नेपाली नागरिकता निरन्तरता दिने विषय प्रमुखताका साथ उठेको थियो । सो बैठकमा युरोपभर रहेका राजदूतहरु, वर्तमान अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, अर्का पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुनालगायतका व्यक्तिहरु सहभागी थिए । यसै गरी नेपाल सरकारका पर्यटन सचिव तथा भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य पनि बैठकमा सहभागी थिए ।

यसैगरि एनआरएनएको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको कुमार पन्त र कुल आचार्य पनि बैठकमा सहभागी थिए । अमेरिकाबाट सोनाम लामा, हङकङबाट यम गुरुङलगायत विश्वभरबाट एनआरएनएका सदस्यहरु सहभागी भए । आउँदो अक्टोबरमा काठमाडौंमा हुन लागेको एनआरएनएको ९औं महाधिवेशनलाई आफ्नो पक्षमा पार्ने गरी एनआरएनका सदस्यहरु अनौपचारिक छलफलमा जुटेका थिए ।