‘एकदिन बढो ठूलो लडाईँ चल्यो र एकजना दाइले स्कर्ट तानेर काली, दन्तकाली भन्दै पिट्यो । फाट्टफुट्ट कुट्ने र कुटाई खाने त भैरन्थ्यो, तर त्यो दिन बहुतै हेपेको महशुस भो । बुबाले घर आएर मलाई चड्काउनुभयो । मलाई नाले कोदालो, काली, निग्रोह भन्ने र मेरो स्कर्ट तानेर कुट्ने दाईको जित भो । म हारेँ । किनभने हतियारको निशाना गलत पर्‍याे।’ 

अनुराधा पौडेल । हुर्कंदै गर्दाः एकदिन केटाहरुको ग्रुप एकातिर र म एक्लै एकातिर परेँ । केटाहरुले मलाई नानाथरी भनेर हेप्थे । कसैले काली भन्थे । कसैले नाले कोदालो नाम राखे । आठ कक्षाको सामाजिक शिक्षामा निग्रोह लेखिएको थियो । त्यो पढेपछि कपि गरेर मलाई निग्रोह पनि भन्न थाले । उनीहरुले मलाई नराम्री भनेकोले मलाई कहिल्यै पनि शारीरिक रुपमा राम्री छु भन्ने बोध भएन । यसरी साईकोलोजि परिवर्तन भो कि कसैले मलाई राम्री भन्यो भने उडाएको जस्तो लाग्छ आजपनि । म नराम्री भएकोले राम्री भएर हिड्नेतिर पनि ध्यानै दिईन ।

गाउँमा खेल्न पर्ने तिनै केटाहरुसँग । मिल्न पर्ने पनि तिनैसँग । मेरो उमेरका केटीहरु मसँग खेल्ने खाले थिएनन् जो थिए बहिनीहरु जस्ता थिए । उनीहरुसँग कुरो नमिल्ने । मेरो स्वभाव केटाको जस्तो थियो । घर बाहिर निस्कन पर्ने, चर्को बोल्न पर्ने, कुट्न पर्ने, कुटाई खाने अनि उपद्रो पनि गरिहाल्ने । एकदिन बढो ठूलो लडाईँ चल्यो र एकजना दाईले स्कर्ट तानेर काली, दन्तकाली भन्दै पिट्यो । फाट्ट फुट्ट कुट्ने र कुटाई खाने त भैरन्थ्यो तर त्यो दिन बहुतै हेपेको महशुस भो ।

म रुँदै घर आएँ । त्यो बेला बुबा ममीसँग गुनासो गर्नै पाईन्थेन । गुनासो गर्यो भने झन कुटाई खाईन्थ्यो । त्यसैले हजुरबुबालाई भनेँ । उहाँले भन्नुभो, अरुले बिनसित्ती एक मुड्की हाने भने तैँले दुई मुड्की हान । हार्ने पनि होईन, रुने पनि होईन । अर्को पटक पनि त्यो दाईले त्यसैगरी कुट्यो । उ दादा जस्तो थ्यो गाउँको ।

हजुरबुबाले भने झैँ मुड्की हान्ने ठाममा ढुगो टिपेर हानेको उसलाई नलागेर अर्कोलाई लाग्यो अलि नराम्रै सँग । गाउँमा कचहरी बस्यो ।दोष मेरै थियो, बुबालाई सबैले अप्ठेरोमा पारे । धन्न केटाकेटी सँझेर माफी पनि दिए तर बुबाले घर आएर मलाई चड्काउनुभयो । मलाई नाले कोदालो, काली, निग्रोह भन्ने र मेरो स्कर्ट तानेर कुट्ने दाईको जित भो । म हारेँ । किनभने हतियारको निशाना गलत पर्यो । त्यो बेलादेखि उसँग खेल्न छाडेँ । बाटोमा देखेपनि तर्केर हिड्ने गर्न थाले ।

केहि बर्ष पछि दाई लाहुरे हुन गयो । म पढाई र घरजम तिर भुलेँ । तीन बर्ष पहिला नेपाल जाँदा माईती गाउँमा दाईको र मेरो २७ बर्ष पछि भेट भो ।अनुहार भुलिसकेको रैछु । उ पल्टनबाट छुट्टीमा आको रैछ । तँ त उस्तै पो रैछस भन्दै थप्यो, मैया तँ र म कति झगडा गर्थेम है”।हो नि । हामीले लामो बात मारेम् । हामीले झगडा मात्र होईन माया गर्न पनि जानेका रहेछौँ । एक अर्कामा माया पनि उत्तिकै रैछ हाम्रो भन्ने कुरा भेट हुँदा आँशु खसेर थाह भयो । मैया तँ आईछस् भन्दै दाईले झोला बोकेर घरभित्र लग्यो ।

उ बेलामा तँ भनेकोले बातचितमा दाईलाई तँ नै सम्बोधन गर्दै थेँ । भाउजुले मैयाँ अब त हजुर ठुलो भैस्यो नि तपाई भन्नु अब त दाईलाई भन्नुभयो । ए हो त नि ! भाउजुको आज्ञा मानेँ । अब त भाउजु पनि आईसक्नु भयो नि है । कस्तो हुने रैछ भने जुन बिन्दुमा हामीले जे छोडेम् पछि भेट हुँदा हामी त्यहि विन्दुमा पुगिने रैछ । बिचको उथल पुथल भुलिने रैछ । बेलुका दाई भाउजुले मासु भात खुवाउनु भो । सफा ओच्छ्यानमा सुताउनु भयो । दाई अब रिटार्यड भएर फर्किंदैछ म अझै घोटिँदैछु ।

बच्चाको कुरो नि ! आज दाईको सम्झना आएर लेखेको । लाहुरे मान्छे कम्पनी तिरै होलास् । तँलाई माया छ । मैले कोही दाईलाई तँ भन्छु भने तँलाई नै भन्छु । अर्को पटक भेटम्ला ।

अनुराधाको फेसबुकबाट