भीम उपाध्याय । पञ्चायती ब्यवस्था नयाँ शासन प्रणाली थियो। देशभरिका राजनीतिकर्मी र कर्मचारीलाई त्यो नयाँ ब्यवस्थाको प्रशिक्षण दिन भनेर पञ्चायत प्रशिक्षण प्रतिष्ठान स्थापना गरी सघन नियमित प्रशिक्षण दिइन्थ्यो। त्यसरी पञ्चायत ३० वर्ष टिक्यो । ०४७ साल पछि त्यो संस्थालाई स्थानीय बिकास प्रशिक्षण प्रतिष्ठान नामाकरण गरेर खुबै प्रशिक्षण दिइने गरिन्थ्यो । तर ०५८ साल पछि जब स्थानीय निकायहरू जनप्रतिनिधिबिहीन भए, त्यसपछि यो संस्था मरितुल्य छ, बिनाकामले कर्मचारीहरू तलब पड्काइरहेका छन्।

अर्को तिर गाउँगाउँमा सिंहदरबार पुगेको संघीय ब्यवस्था जन्माइएको छ। अब खानेपालो हाम्रो हो भन्दै ३६ हजार जनप्रतिनिधिहरू भोरजुवा खेल्दैछन् । कसैको नियन्त्रणमा कोही छैनन्। ठेकेदार, डोजर मालिक, ढुंगागिट्टी बालुवा माफिया र ब्यापारी, जलथलवायु ठेकेदार र माफिया जनप्रतिनिधिमा चुनिएर लुटतन्त्रमा व्यावसायिकरण भित्र्यााइसकिएको छ। राजकाज कसरी चल्छ र चलाइन्छ, तिनले सपनामा पनि नचिताएको चिट्ठा पारेका छन्। न कसैले संघीयता यसरी चलाउनु पर्छ भनेर सिकाउँछ, न कसैलाई सिक्ने चाहना रहेको पाईन्छ। सबै आ–आफै बिज्ञ बनिपल्टेका छन्।

भरमार दलहरूका सबै कार्यकर्तालाई पद चाहिएको छ, त्यस मै रडाको र हानथाप छ। मिले सरकारी, राजनीतिक नियुक्ति र पदहरू, नमिले दलभित्रका विभाग, प्रदेश, केन्द्र स्थानीय वा त्यो पनि नभए ठेक्का, लाइसेन्स, जागिर, चन्दा,…नभई भएको छैन। नत्र नेताहरूको सत्ताको सिंहासन ढुल्मुलिन्छ, रातारात तिनकै पाटीको बास हुन बेर लाग्दैन ! आर्यघाट नपुग्दासम्म, पशुको आंगको किर्नाले जिउ नछाडेसम्म बुढा नेताहरू मरे आंग छाड्दैनन्, जब पशु मर्छ तब भने छाड्लान् !

५÷१० लाख नियमित सदस्य भएका यहाँका दलहरूलाई नेपाललाई लाख वटा टुक्रा पारे पनि तिनलाई नै पदहरू कमी हुन्छ, कहिले पुग्ने हैन, कहिलै पुगेको देखिएन । त्यस्तो शासन प्रणालीमा सक्षम, योग्य, शिक्षित, पठित, बिज्ञ, बैज्ञानिक, ईन्जिनियर, पेशाबिदहरूले के खाएर ठाउँ र अवसर वा जिम्मेवारी पाउछन् त नि! ती कसरी नेपालमा बस्छन् त नि, कसरी बिदेशिएकाहरू स्वदेश फर्केलान् त नि!

बरा ! केही मान्छे लोकसेवाबाट छिरेर त यो मुलुक जेनतेन थामेका छन् । तर, अहिले किर्नाहरूलाई त्यहीँ लोकसेवामा गिद्दे नजर लगाउँदै त्यसलाई पनि हडप्न नपाउदासम्म निद्रा नलाग्ने भइसकेको छ। हाँडीमा कनिका त्यही लोकसेवाबाट छिरेका मुलुक थामेका बिज्ञहरू बन्न पुगेका छन् , तर त्यो कनिका छयुन्जेल रा‘…लाई के लागोस् निद्रा !

अहिलेको संघीय शासन ब्यवस्था ईतिहास मै नभोगेको बिशुद्ध नयाँ‘ शासन ब्यवस्था हो, यो मंगलग्रहको यात्रा सरह हो। तर गफैले मंगल ग्रहको यात्रा गर्न दुस्साहस भएको छ। फुकीफुकी, प्रशिक्षित पार्दै , क्षमता योग्यता कार्यकुशलता र कला बिकसित गर्दै अगाडी नहिड्दा अन्तरिक्ष यान त पड्केर छिन्नभिन्न हुने नै छ, अन्तरिक्ष यात्रीहरू पनि संगै खरानी हुनेछन्। तर, संघीय शासन ब्यवस्थाको यानले मंगल ग्रहको उडान भरिसकेको छ( बिना तयारी, बिना सतर्कता र बिना प्रशिक्षण…!

(उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन्)