ए कान्छा, मलाई सुनको तारा झारी देउ न
त्यो तारा मात्र नि होइन, जुन पनि झारी दिउँला

प्रतेक नेपाली पिढिले, भाका हालेर गाउने यो कालजयी गीतसित गायिका अरुणा लामा र गायक रुद्र गुरुङको नाम जोडीन्छ | अम्बर गुरुङको नाम त जोडीन्छै, जोडीन्छ| कारण, पुराना अजम्बरी गितहरुमा धेरैजसो अम्बरले नै संगित भरेका थिए | नयाँँ पिढिका थुप्रै थुप्रै गायक गायिकाहरुले, यो गीतलाई उस्तै मन लगाएर गाएका थिए, गाउँदैछन र गाइरहनेछन | यस गितको शब्द र लयमा भएको मिठासले गर्दा तिब्बतीहरुले यस गीतलाई उस्तै लयमा तिब्बतिमा पनि गाएका छन् |

यस् गितको शब्द-रचनाकारलाई चैँ ओझेलमा पारिएको छ |कतिपय ठाउंमा शब्द र संगित दुवै अम्बर गुरुङकै हो जस्तो गरिएको छ भने, कतिपय ठाउंमा अरुणा लामाकै शब्द पनि भन्न भ्याएका छन | युट्युबमा राखिएका यस् गितको भिडिओ क्लिपहरुमा शब्द -रचनाकारको नामै छैन | अम्बर गुरुङ र अरुणा लामा त्यस गितको संगितकार र गायिका भएपछि, गितकार पनि उतै दार्जिलिङ्गतिरकै होला भनेर, मेरो नातेदार, दाज्यु, समाजसेवी श्री पासँग धेण्डुपसित सोधखोज गर्दा, एकजना ओझेलमा परेको कवी, गितकार्, कलाकार पो हामीले फेला पार्यौँ | लेखक जीवन लाबरले लेख्नु भएको ‘हाम्रा ब्यक्ती र ब्यक्तित्व’ किताब नै यो प्रस्तुतिको श्रोत हो | दार्जिलिङ्गे नेपाली भाषामा लेखिएको बर्णनलाई जस्ताको तस्तै राख्न खोजिएको छ | तर कतिपय ठाउंमा अभिब्यक्तिलाई परिष्करण गरी पस्किएको छ | एकजना ओझेलमा परेको, छायामा परेको, बिर्सीईएको साहित्यिक ब्यक्तित्वलाई, अझ किटेरै भन्दा एकजना सशक्त गीतकारलाई आफ्नो किताबमा ठाउं दिनुभएकोमा श्री जीवन लाबर धन्यवादका पात्र हुनुहुन्छ |

यो अजम्बरी गित न अम्बर गुरुङ्गले नै लेखेका हुन, न त अरुणा लामाले ! यसका गीतकार हुनुहुन्थ्यो दिवंगत पासंग वाग्बल | कहिल्यै नसुनेको वाग्बल थर् बारे जिज्ञाशा राख्दा, तमाङ जाती भएको पत्तो लाग्यो |”पासँग वाग्बलको जन्म १२ मई १९२९ मा सिँगताम चिया कमान, दमाइ बस्तिमा सम्पन्न परिवारमा भएको थियो | परिवारमा माइलो छोरो हुनाले छरछिमेकिले ‘माइला बाबु’ भनेर बोलाउँथे | स्थानीय स्कट मिशन (फाटक स्कुल)मा प्राइमरी स्कुल सिध्याएर, सेण्ट रबर्ट्स स्कुल हुँदै टर्नबुल उच्च बिधालयबाट म्याट्रिक दिए, तर गुल्टे | पाँच फुट पनि नपुग्ने, अलि कालो कालो बर्ण, छरितो बदन, समय अनि परिस्थितीले जिर्ण बनाएको अनुहार, झट्ट हेर्दा बस्तिवाला किसान जस्तै देखिन्थ्यो | अंग्रेजी र साहित्यमा राम्रो दखल थियो | नेपाली, हिन्दी र उर्दुमा पोख्त थिए | नाटक र संगितमा बिशेष लगाव थियो उनको !

– सन १९५२ ताका प्रसिद्व संगितकार, गायक अम्बर गुरुङसित पासँग वाग्बलको भेट गराएको थियो ललित कुमार छेत्रीले| अम्बरले भर्खर भर्खर गीत गाउन थालेको थियो | रहंदा बस्दा दुवै घनिष्ठ भए | पासांग गित लेख्थे भने अम्बरले त्यसमा संगित भरेर स्वरले सजाउँथे | पासंगले अम्बरलाई पनि नाटकमा तानेका थिए | पासंग आँफैले भने थुप्रै नाटकहरुमा अभिनय गरेर दर्शकहरुको मन जित्न सफल भएको थियो | पासांग वाग्बल, मुलत गितकार् थिए |

घाम जुन पञ्च, राखी बाचा मार
मन लि, मन दि, फेरी नफाल

उहिल्यै ताप्लेजुङ्गको तोक्मे डाँडास्थित भानु हाइस्कुलमा पढदा हाम्रा घनेन्द्र सरले यो गीत गुनगुनाइ रहनुहुन्थ्यो | यो गीत पासंग वाग्बलले लेखेको हो भनेर यतिका बर्ष पछि मात्र थाहा भयो |

“५० को दशकताका, कला क्षेत्रमा लागेका ब्यक्तिहरुले एउटा आर्ट एकेडेमी खोलेका थिए | जीवन लाबर लेख्नुहुन्छ: “१९५८ मा आर्ट एकेडेमीका सबै सदस्यहरु शितकालको समयमा रातिको सिनेमा हेरेर टाइगर हिल गयौँ | आकाशमा तारा निक्कै उज्यालो थियो | हामी, अंबर गुरुङ्ग, गगन गुरुङ, चन्द्रशेखर दिक्षित, कपिलराज सुब्बा, कर्म-गोपाल योञ्जन, शरण प्रधान, रञ्जित गजमेर, नयन प्रकाश सुब्बा आदि थियौँ | आकाशको तारा देखाउँदै गित लेख्न आग्रह गरयौँ पासंग वाग्बललाई, आग्रहलाई स्वीकार गर्दै उनले तुरुन्तै गीत लेखे :-

ताराको लाग्यो बारात रे
सुनहरी हुँदैछ रात रे
आकाशमा मानौँ स्वर्ग सजेछ
पातालमा सारा संसार सुतेछ
बाँसुरीले रोइ रोइ
मिलनको घडी निम्त्याइरहेछ
झर झर झरनाको राग रे
बज्दैछन धडकन साज रे
बादलको आँचल मन्द पवनमा
चाँदनिसित झुलिरहेछ
उमंगभरी चुपचाप् रातमा
पागल नयन डुलिरहेछ
कुहुकुहु कोइलीको राग रे
बज्दैछ मनको यो तार रे ,,,,

यस्तो मर्मस्पर्शी गित एकैक्षणमा लेखेर हामीलाई छक्कै पारे |” स्वजात प्रेम, आशा-निराशा, एकांकीपन, माया मिलनको उद्वेग, बिछोडको वेदना, यौवन त्रिष्णा आदि कै बारेमा गीत रचिएको पाउँछौँ | उनका गीतहरुमा शब्द जटिलता कहीँ छैन, तर पनि गीतहरु उतिकै प्रभावशाली छ |

मेरो सपना पिर भरेको बिरानो छ संसार
सरगम रहित छ बीणा मनको लुप्त संसार |
फुल्दछ फुल कली मेरो बाग उजाड छ
मेरो प्यार ओइली गयो तर याद आलो छ |
आँसु नसम्झ यसलाई,यो त कसैको प्यार हो
शरीर शरीरको मिलन होइन मुटु मुटुको प्यार हो
मानवले रचेको होइन,महान दैविक उपहार हो “

“पासाँग वाग्बलबारे डा. लक्खिदेवी सुन्दासले यस् प्रकार लेख्नु भएको छ : दार्जिलिङ्गको रंगमञ्चमा, शुरुमा अम्बर गुरुङ्गले पासांग वाग्बलकै गीत लिएर आए र अरुणा लामाले गाइन र गायिकाको रुपमा उनी चिनिएको थिइन | तर समयको परिवर्तन यस्तो ,,,, उनिहरु चोटिका कलाकार छन, तर उनिहरुका गित लेखक बिर्सीइएका छन | अंबर गुरुङ्गको संगितले सजिएको उनका यो गीतहरु”
‘सुन्दर जग सारा, मेरो रात बिरानो छ
चम्कन्छन् तारा ति, मेरो रात बिरानो छ

******************************
झर्नै लाग्यो मेरो जोवन
खिली देउ मेरो मनमा
श्रीमती अम्बर गुरुङ्गको बिशेष आग्रहमा पासंग वाग्बलले यो गित रचेका थिए रे | यस् गितलाइ शिर्षस्थ संगितकार र गायक कपिलराज सुब्बाले स्वरबद्व गरी गाएका थिए :
उम्लने माया पोखिन्छ, गम्भिर पिरती रोजन
माया सबैलाई एउटै हो, एउटै मायालाई रोजन
राम्ररी रोजी फुल टिप, टिपेर पछि नपछताउ
फुलको रंग धेरै छ, नजर धेरै नडुलाउ
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
शुरुमा, पासंग र अंबरको नङ र मासु जस्तै मिल्ती थियो | पासंग गित लेख्थे भने अंबर त्यस्लाई संगितले सजाउँथे | पछी के कारणले हो, उनारु बिच मनमुटाव भयो | दुवैले यसबारे केही बोलेनन | पछि पछि पासांग साथी भाईहरुबाट एक्लिए | उनी आफु एक्लिएको नभएर, साथी भाईहरुले उनलाई एक्लाएको आभास पाएर यस्तो गित लेख्छन :
पथको साथी पाएँ हजार
मनको कोही पाइंन
हृदय लिने आयो गयो
दिन चाहने आएन
रुन चाहने आएन
मिलनसार पासँग वाग्बलले बिहे गर्न कहिल्यै मानेनन | उनको कला ब्यक्तित्वभन्दा अरु के के ब्यक्तित्वलाई मुछेर उनलाई संगी साथीहरुले पन्छाए |पासँग वाग्बलको एक्लोपन पनि दयनीय थियो | प्राय कलाकारको जीवन यस्तै हुन्छ | उ दुनियाँँ देखी अलग थलग् हुन्छ, दुनियाँँले उसलाई बुझ्दैन | यसरी आफ्नो एक्लोपनमा गितकार् ब्याकुल बन्छ :
शिर्षस्थ गीतकार, कलाकार, अभिनेता पासांग वाग्बलले प्रताप सुब्बाद्वारा निर्देशित नेपाली चलचित्र ‘परालको आगो’मा पनि अभिनय गरेका थिए | जीवनमा पासांग वाग्बलले जस्तो दु:ख कसैले पाएनन | भ्याक्सिनेटरको काम गरे, हिमालयन माउण्टेनेरिङ्ग इन्स्टिच्युटमा साधारण कारीन्दाको काम गरे | क्यारियर बनाउने पट्टी ध्यानै दिएनन | अलि अलि भएको सम्पत्ति, खेतिबारी, ब्यापार आदि पनि बाबु-आमाको मृत्‍यु र आफ्नो सोझोपनले गर्दा सिद्वियो |आफ्नो छेमाको ‘हिमालयन बार’ होटेलमा निकै बर्ष काम गरे | १९७१ मा दार्जिलिङमा भएको भिषण आगलागिमा छेमाको होटेल पनि डढ्यो | उनको समाउने हाँगो र टेक्ने धरती पनि रहेन बाँकी | बाँच्नका लागि सिंहमारी लोकल चल्ने जिपमा खलासीको काम गरे | प्रसिद्व गीतकार पासाँग वाग्बललाई गाडीहरुको भिडमा ‘सिंहमारी, सिंहमारी, सिंहमारी जानुहुन्छ? ‘ भन्दै प्यासेन्जर खोज्दै गरेको पनि दार्जिलिङले देख्नुपर्‍यो |

जिन्दगीको गनिनसक्नु दु:खलाई भुल्न, रक्सी बेस्मारी पिए | पिउन त अरु कलाकार र गीतकारहरु पनि पिउँथे | तर उनले आफ्नो लिभर कामै नलाग्ने गरी पिए | सरकारी अस्पतालमा उनको अन्तिम घिटघिटो थियो, अम्बर गुरुङ्गलाई भेटनु | तर अन्तिम इच्छा पुरा हुन सकेन |

एकजना सशक्त कलाकार तथा गीतकारको पहिचानै निमिट्यान्न हुनेगरी भएको दु:खद अवसानको जिम्मेवारी को त ? अम्बर गुरुङ्ग, अरुणा लामा, रणजीत गजमेर आफ्नो कलाक्षेत्रमा उपल्लो ठाउँमा पुगे | तिनले पासांगलाई बाटो देखाइ दिएको भए पनि हुन्थ्यो नि भन्ने कतिलाई लाग्ला |तर उनको जीवनी पढदा, पासंग आँफैमा कमी कमजोरी देखियो | क्यारियरलाई लात मारेर बिन्दास बाँचेको अनुभुती भयो | उनले आफ्नो ट्यालेण्टको मार्केटिङ गर्न नजानेको देखियो, ध्यान नपुर्याइेएको देखियो | पासांग वाग्बल मात्र होइन, रक्सीमा चुर्लुम्म डुबेका एकजना अर्का सशक्त गीतकार हरिभक्त कटुवाललाई जिँग्रिङ्गग केश लिएर पुतली सडकस्थित पुष्कर सेकुवा अगाडि मसला पिँध्दै गरेको मेरो खुद आँखाले देखेको छु | हरिभक्तले पनि पासाँगकै नियती भोगे | दु:खद अवसान भयो | तर उनका आफ्नाहरुले उनको ब्यक्तित्व र कृतित्वलाई गुगलमा दर्ज गरेका छन | तर पासाँगले त्यो सौभाग्य पनि पाएनन | गुगलमा उनको नाम दर्ज हुनुको त कुरै छोडौं, उनिद्वारा रचित कालजयी गित ‘ ए कान्छा मलाई सुनको तारा खसाइ देउ न, युट्युबमा छरपष्ट छन | तर शब्द रचनाकारको नामै उल्लेख छैन | पासांग वागबलको देहावासन भएको यतिका बर्ष भएपनि त्यो कालजयी, अजम्बरी गित ‘ए कान्छा,,,, ले संधै उनलाई सम्झाइ रहोस् | मेरो यो प्रस्तुतिको बटम लाइन नै यही हो |

(यो प्रस्तुतिलाई प्रस्तुत गर्न सहयोग पुर्‍याउनु हुने दार्जिलिङ्ग निवासी श्री पासांग धेण्डुप, श्री जीवन लाबर, न्युयोर्क निवासी लाल तमाङ, अशोक पन्त र पोखराबासी भक्त तमाङलाई आभार प्रकट गर्दछु |)

अन्तमा, पासांग वाग्बलको गितको दुई हरफ राख्दै मेरो यो प्रस्तुतीलाई यहीँ बिट मार्न चाहन्छु :
बिन्ती छ् मेरो दुई कर जोडी, यो बिन्ती नतोड
यस्लाई तोडे पाप है लाग्ला, यसलाई नतोड

(ससाङ लामाकाे फेसबुकबाट साभार गरिएकाे )