म बिहान ७ः३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसको पनि कर तिर्छन् । मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ । म गाडी किन्छु । त्यसमा कर तिर्छु । प्रत्येक वर्ष कर तिर्छु । म पेट्रोल किन्छु, त्यसमा पनि कर तिर्छु । म सडकमा गाडी कुदाउँछु, त्यसको पनि कर तिर्छु । त्यस्तै, म सन्तानलाई पढाएबापत कर तिर्छु ।

म बिरामी हुन्छु, डाक्टरलाई जचाउँदा पनि कर तिर्छु । म औषधि किन्छ, त्यसमा पनि कर तिर्छु । म चस्मा किन्छु, त्यसमा पनि कर तिर्छु । म जुत्ता किन्छु, त्यसमा कर तिर्छु । म सर्ट किन्छु, त्यसमा कर तिर्छु । म कट्टु किन्छु, त्यसमा कर तिर्छु । म बिजुलीको शुल्क तिर्छु, त्यसमा पनि कर तिर्छु । म पानी पिउँछु, त्यसमा कर तिर्छु ।

म जीवनका प्रत्येक पाइलामा कर तिर्छु । हर्ट अट्याक हुन्छ, त्यसका लागि औषधि गर्छु । मृत्युबाट फर्किंदा पनि कर तिर्छु । दुर्घटना हुन्छ। मेरो खुट्टा काटिन्छ । तर, मसँग कर पनि लिइन्छ । बम पड्किन्छ, म बल्ल बल्ल बाँच्छु, मसँग कर उठाइन्छ ।

तर, यो करबाट के किन्छ सरकार ?

१. मन्त्री र हाकिमलाई महँगो गाडी किन्छ ।
२. मन्त्री र हाकिमले चड्ने गाडीमा हाल्न तेल किन्छ ।
३. मन्त्री र हाकिम विदेश यात्रा गर्न भत्ता दिन्छ सरकार । गत साल १ हजार ४ सय जना हाकिम र मन्त्रीले विदेश डुले, मैले अस्पतालमा उपचार गर्दा तिरेको करले ।
४. दलका कार्यकर्तालाई खर्च बाँड्छ ।
५. बाटोमा एक इन्चको पिच गरेर ठेकेदारलाई पैसा दिन्छ । हाकिम र मन्त्रीले ३५५ प्रतिशत घुस खान्छ्न् ।
६. देशको व्यापार घाटा सात गुणा बढी भएको छ। टोलटोलका फलफूल दुकानमा अस्ट्रेलियाबाट ल्याइएका स्याउ छ्न् । तर, जुम्लाका स्याउ भैंसीले खाँदै छ्न्।
७. गरिबले सिटामोल पाउँदैन । सुकुमबासीको घर छैन । थुप्रै महिला शरीर बेच्न बाध्य छ्न् । किन ?
म यो देशको सन्तान हुँ। मेरो जिम्मेवारी छ, यो देश जोगाउने। म नागरिक हुँ यो देशको । मेरो जवाफदेहिता छ देशको संंरक्षण गर्ने। तर, मलाई शासन गर्छन् मेरा देशका नेता, मलाई शोषण गर्छन्, मेरा नेता।

मैले भर्खर एउटा सन्तान पाएँ । उसले यो देशलाई जोगाउन ज्यान पनि दिन्छ भविष्यमा । तर, उसलाई लिएर घर फर्किंदा मैले उसलाई पाएबापत कर तिरें । अब उसको नाम दर्ता गर्दा कर तिर्नुपर्छ। उसलाई स्कुल भर्ना गर्दा कर तिर्नुपर्छ। उसको विवाह दर्ता गर्दा कर तिर्नुपर्छ। उसको नागरिकता लिँदा कर तिर्नुपर्छ।

कहिलेसम्म म कर तिरिरहने अनि मन्त्री र हाकिम मेरो करबाट कहिलेसम्म मस्ती गरिरहने ?

म तपाईंलाई भोट हाल्न चाहन्छु, के मेरा यी प्रश्नको जवाफ तपाईंसँग छ ?

के चुनाव मेरो श्रममा लगाएको करबाट बाजी खेल्ने खेल मात्र हो ? हरेक नागरिक सचेत हुन अवाश्यक छ । सोध्नुहोस् प्रश्न । लोकतन्त्रलाई आफ्नो हातमा लिने प्रयास गर्नुहोस्। निराशा होइन, चेतनाको खेती गरौं ।

डा. युवराज संग्रौलाको फेसबुकबाट