काठमाडौं । सरकारले गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा गएका कामदारका लागि ६२ करोडबढी खर्च गरेको छ । वैदेशिक रोजगार बोर्डकाअनुसार विदेश गएका कामदारका लागि विभिन्न शिर्षकमा ६२ करोड ३६ लाख ५४ हजार ८८ रुपैयाँ खर्च भएको हो । ४ हजार ९ सय ७३ विदेश गएका नेपाली कामदारका लागि सो रकम खर्च भएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा ज्यान गुमाएका २३ महिला र ७ सय ३० पुरुष गरि ७ सय ५३ नेपाली कामदारका परिवारलाई ४८ करोड ४९ लाख ४० हजार सहायता गरेको बोर्डले जानकारी दिएको छ । यसैगरी वैदेशिक रोजगारीको शिलशिलामा अंगभंग र बिरामी भएका ३ सय ३५ कामदारलाई ९ करोड १४ लाख १३ हजार ६ सय ९९ रुपैयाँ सहयोग गरेको बोर्डले जारी गरेको सूचनामा उल्लेख छ । जसमा १२ महिला र ३ सय २३ पुरुष रहेका छन् ।

यस्तै २९ जना कामदार (९ महिला र २० पुरुष)का परिवार औषधोपचारका लागि १२ लाख १५ हजार, अलपत्र परेका ७८ जना (५ महिला र ७३ पुरुष) कामदारलाई नेपाल झिकाउन ६५ लाख ६५ हजार ५ सय ५४, अलपत्र कामदारको ८२ वटा शव (१ महिला र ८१ पुरुष) नेपाल ल्याउन नियोगलाई पेश्की रकम ७८ लाख ५८ हजार ८ सय ६ रुपैयाँ खर्चको बोर्डले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीका शिलशिलामा ज्यान गुमाएका ७ सय ८३ (१७ महिला र ७६६ पुरुष) कामदारको शव नेपालको घर ठेगानामा पुर्याउन १ करोड ५७ लाख ६० हजार ५ रुपैयाँ खर्चको जानकारी दिएको बोर्डले १ हजार ४ सय ८० महिला कामदारलाई अभिमुखीकरण तालिम वापतको रकम शोधभर्नामा १० लाख ३६ हजार रुपैयाँ खर्च भएको बताएको छ । ६ सय ९१ महिला र ७ सय ४२ पुरुष गरि १ हजार ४ सय ३३ जनालाई वैदेशिक रोजगार छात्रवृत्तिमा एक करोड ४८ लाख ६५ हजार २४ रुपैयाँ खर्च भएको बोर्डको भनाइ छ ।