प्रकाश डुम्रे । गणतन्त्र प्राप्तिको आन्दोलनमा त्याग र बलिदान गर्ने हजारौं माईलाहरु खाडीमा छन्, सयौं घाइते छन्, केही थान माइलाहरु सत्ताको मोहमा लठ्ठिएर हिजोका आफ्ना सहयोद्धाहरुलाई कानुन रुपि डण्डा लगाएर जेल कोच्नमा गर्व र आफुलाई सफल ठान्द्छन ।जनयुद्धमा त्याग र जीवन समर्पण गर्ने योद्धाहरुलाई हातमा हत्कडी लगाएर प्रहरी भ्यानको पछाडि कोचेर जेल कोच्दै गर्दा जुन व्यवस्थाको विकल्प खोज्ने विद्रोह र आन्दोलनमा लागेका तर उही व्यवस्थामा रुमंलिएका केही थान पुराना माइलाहरु तथा नव शासकहरु हिजोका अपुरा सपना पूरा गर्न हिँडेका सहयोद्धालाई जेल कोच्ने र आतङ्ककारीको बिल्ला लगाउन तछाडमछाड गर्दैछन् । आज काठमाडौंबाट विकास र समृद्धिका डंङ्का पिटिरहँदा सयौं नेता कार्यकर्ता भूमिगत हुन बाध्य पारिएका छन् । विद्रोही पक्ष सम्मानजनक वार्ताका लागि तयार छौं भनिरहँदा राज्य वार्ता, संवाद होइन कठोर कदम चालेर दमन गरेर सिध्याउने उद्घोष गर्दैछ ।

हालका विद्रोहीस्वरहरु हिजो उहाँहरुले पनि उठाएका मुद्दा हुन्, हिजोका मुद्दा बिर्सेर सत्ताराजमा पुगि तिनै मुद्दा उठाउने सहयोद्धालाई दर्जनौं मुद्दा लगाएर जेल कोच्दासमेत हिजोका माओवादीहरु मौन बस्नुमा कुनै लज्जाबोध छैन । माला लगाएर एअरपोर्टबाट युरोप र गाउँ गाउँमा घुम्न जाने पुराना माओवादी साथीहरू आफ्नै पुराना सहयोद्धालाई आफ्नै सरकारले ड्याङ ड्याङ गोली हानेर ढलाउँदासमेत एक शब्द बोल्नुमा घाटा देख्न थाल्छन् ।

७० सालको निर्वाचन बहिष्कारका कमाण्डर ७५÷७६ मा आउँदा सविधान कार्यान्वयनका कमाण्डर बनेका छन् । हिजो उनै कमाण्डर हुन कथित निर्वाचन भन्दै बहिष्कार गराउने तर आज पुनः उनै कमान्डर कम्मर कसेर सविधान कार्यान्वयन गराउन लागेका छन् ।राजनीति साच्चिकै निर्मम हुँदोरहेछ अर्बौं भ्रष्टाचारका खलनायकहरु १० हजार धरौटीमा रिहा हुन्छन्, गणतन्त्र ल्याउने नायकहरुलाई लाखौं लाख धरौटी तोकिन्छ् पुनः पक्राउ गरिन्छ जिल्ला जिल्लामा घुमाईन्छ ।

पुराना माओवादी साथीहरू यति बोल्ने आँटसम्म गर्ने हो सायद थोरै भएपनि जनयुद्धप्रति न्याय हुन्थ्यो होला तर बोल्नुहुदैन किनकि मनोनयन, नियुक्ति जस्ता धेरै सत्ताका संयन्त्रहरुमा सेट हुनुछ । तसर्थ गणतन्त्रका योद्धाहरु जेल कोचिन्छन् हिजो गणतन्त्रका कट्टर बिरोधीहरु आज गणतन्त्र प्राप्तिका वास्तविक हिरो बनेका छन् । हो राजनीति निर्मम हुँदोरहेछ ।

(कलाकार तथा विप्लव नेतृत्वको नेकपाका उपत्यका इन्चार्ज माइला लामा हत्कडी लगाएपछि पत्रकार डुम्रेले फेसबुकमा लेखेको लेख हो । )