काठमाडाै‌ । साउन महिनामा धेरै युवती (महिला)हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ ।एकातिर हरिया चुरा, पोते र हरिया पहिरनको ब्यापार बढेको छ भने युवा (पुरुष)हरुले भने साउन १ गतेदेखि माछामासु र मदिरा सेवा १ महिनाका लागि छाडेका छन् । यसरी हेर्दा साउन महिनामा माछामासु र मदिराको ब्यापार भने केही खस्किएको ब्यापारीहरु बताउँछन् ।

चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै बर्णन भएको देखिदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ ।

शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ ।

हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्व नबुझी टोल, छिमेकीको वातावरणको प्रभावले गर्दा देखासिकीलाई अंगालेको धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई छ ।

बैशाख, साउन, माघ महिनालाई विशेष गरी धार्मिक महिनाको रुपमा लिइन्छ । पशुपन्छीको हत्या गर्नु पर्छ कुनै पनि धर्मशास्त्रमा छैन् । जसका कारण माछामासु खाने कुरालाई हिन्दु धर्म अनुसार राम्रो मानिदैन । साउन महिनामा धेरै महिला पुरुषहरुले मासु नखाने र मदिरापनि नपिउने गरेको भेटिएको छ ।