टंक कार्की । जसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सुसंवद्ध विचार प्रणालीमा संगठित गर्‍यो, मरते दम तक लड्यो । नेताको करिश्मामा होइन सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर वकालत ग¥यो । यसैको निम्ति जसले भनि रहन्थ्यो ’नेता होइन नीति प्रधान’ कुरो प्रष्ट थियो, संगठन बाबुसाहेवको अघिपछि हिड्ने लावालस्कर होइन । त्यो तुष्टीकरणले बन्ने पनि होइन त्यो त सामाजिक मिशनप्रतिको निष्ठाले बन्ने हो । त्यसो भए मात्रै त्यो दिगो र प्रभावकारी हुन्छ । उसको काल्पनिकी बेजोड थियो । उ दूर क्षितिज निहाल्थ्यो । उ आफ्नो क्यानभासमा भए भरका सामाजिक रंग पोतेर सुन्दर चित्र प्रस्तुत गर्न चाहन्थ्यो, जहाँ दूर्वलहरू शिर ठाडो पारून्, सबै रंगहरु हाँसुन् र संगतिमा हातेमालो गरुन् । उ समाजलाई कसैको रैती मान्दैनथ्यो न त समाजलाई कागती निचोरे झैं निचोरेर खडा गरेको वैभवलाई न्यायिक करार गर्थ्यो ।

उ भन्थ्यो, ’हाम्रो घरको भद्रगोल हामीले मिलाउने हो, त्यो क्षमता हामी राख्छौं पनि, तिमी आफ्नै घर हेर, हामीलाई तिमी साथी भए पुग्छ, बाबु साहेब पल्टिनु पर्दैन ।’ स्वाभिमानको मूल्य उसलाई थाहा थियो । मित्रताको हैशियत पनि राख्दथ्यो ।भोग र विलासमा उसको रुची छँदै थिएन । उ अभावको पाशविकतालाई बुझ्दथ्यो र सामाजिक तहमा त्यसको उन्मुलनको निम्ति मरिहत्ते गरेर लागेको थियो । आफैँलाई भने त्यसले कुनै दाल गलाउन सकेन, जसले चना खाएर भोक टार्यो, तर आफ्नो विश्वास डगमगाउन दिएन । सायद उ आफ्नो दाइको शहादतलाई स्मरण गर्दै भन्थ्यो, ’दाइ, यति जावो दुःखले मेरो रौं पनि झर्दैन, धन्दा न मान्नोस् तपाईको शहादत खेर जान दिने छैनौं ।’

उसलाई प्रतिपक्ष समेत पनि बडो आदर भावले हेर्दथे, उसको निष्ठा र समर्पण देखेर पानी पानी हुन्थे । हकिकत ! आफ्नै शिष्यले भने उसलाई अभरमा घचेटे, उ बेला शक्तिको रंगशालामा अर्कै खेल ’थ्यो ्र टप्परटुईयाँ र उपबुज्रुक भन्थे उ प्राज्ञै छैन, कायर र कपटीहरु लान्छित गर्थे उसको गन्तव्य बत्तीमा होमिने पुतली हो । तिनैले यस्तो पनि भन्न भ्याए उ विधर्मी हो, विधर्मीको पुच्छर हो । यो पनि त हकिकत हो ! ( इतिहासको न्यायको इजलासमा अर्कै इन्साफ हुनु थियो, उ अद्वितीय जागृत थियो, एक कुशल रणनीतिज्ञ थियो । उ आफैँ जलेर गयो तर उसले प्रदीप्त गरेको मार्गमा अन्ततः उनका आलोचक र विपक्षी सहित सिंगो मुलुक होमियो पनि । उ थियो अटल नक्षत्र, यस्तो थियो उ जमानाको नायक ।

(पुष्पलाल स्मृति दिवसको अवसरमा पूर्वराजदूत कार्कीले उनलाई स्मरण गर्दै सो लेख फेसबुकमा लेखेका हुन् ।)