विपुल सिजापति । सनातन धर्ममा दुई काव्य महत्त्वपूर्ण छन्, रामायण र महाभारत । यी दुबै काव्यलाई हजारौँ वर्ष अगाडिको भनिन्छ, तर मानव विकाशको इतिहासलाई आधार मान्ने हो भने विश्वास गर्न मुश्किल हुन्छ । यी दुबै काव्यका हस्तलिखित प्रतिलिपी पनि अहिले उपलब्ध छैनन्, अन्यथा कार्वन डेटिङको आधारमा समय निर्धारण गर्न सजिलो हुने थियो । तर अन्य उपलव्ध तथ्यहरूका आधार मानेर अध्ययन गर्ने हो भने यी काव्य त्यति पुराना होइनन् जति मानिन्छन् ।

रामायणमा रामलाई एक आदर्श पुरुषोत्तमका रूपमा प्रस्तुत गरिएको छ । तर सम्बुक प्रकरणले भने आदर्श पुरुषले पूर्णता पाउन सकेन । रामायणकै कतिपय प्रकरणलाई प्रक्षिप्त भनेर प्रतिवाद गर्नेहरू पनि छन् । महाभारतका कथाहरू प्रक्षिप्त त छैनन् तर जय, भारत र महाभारत गरेर अन्त्यमा गीता समेत समावेश भएर विकशित महाभारतका कथा र उपकथाहरू जसले जतिबेला जोडे पनि ती सबै कथाहरू महाभारतकै कडी हुन पुगेका छन, परिपुरक कथा भएका छन् । रामायण निश्चय नै महाभारत भन्दा अगाडिको हो किनभने महाभारतमा रामायणको प्रशस्त पात्र तथा उदाहरणहरू छन् । गीताको एक श्लोक “स्वधर्मे …..परधर्म भयवह“ भने निश्चय नै प्रक्षिप्त श्लोक हो, बुद्ध धर्मको उपस्थिति पछिको हो । “परधर्म“ भन्नुको अर्थ नै त्यहाँ अन्य धर्मको उपस्थिति भइसकेको थियो भन्ने स्पष्ट हुन्छ, अन्यथा यो श्लोकको आवश्यकता थिएन ।

महाभातका मूल लेखक व्यास हुन्, शंका छैन । यद्यपी अवतारवादका समर्थकहरूले व्यास पनि विभिन्न युग र कालमा गरेर चौध व्यास भए, व्यास व्यक्ति नभएर पद हो भन्ने गर्छन्, तर यो प्रमेय तर्क हो जसलाई प्रमाणित गर्ने कुनै आधार छैन । तथापि, महाभारतका लेखक कृष्ण द्वैपायन व्यास हुन् भन्नेमा दुई मत छैन । यिनै कृष्ण द्वैपायन व्यासका बारेमा फारसको शातीर नामक धर्मग्रन्थमा उल्लेख छ ।

प्राचीन फारस (हालको इरान)को शातीर नामक धर्मग्रन्थ र जेन्द अवेस्ताका प्रवर्तक जरथ्रुष्टिको जीवन काललाई आधार मान्ने हो भने व्यास ऋषि ६५० ई.पू. हाराहारीका देखिन आउँछन् । ई.पू. ३३० तिर अलेकजेण्डरले विश्व विजय अभियानका क्रममा फारसमा पनि आक्रमण गरे र त्यहाँको हखमनी साम्राज्यलाई ध्वस्त पारे । यसको साथसाथै वेद समकक्षी प्राचीन अवेस्ता धर्मको धर्मग्रन्थ पनि लगभग नष्ट हुन पुग्यो । जरथ्रुष्टि धर्मको नवीन प्रर्वतकका रूपमा पोरोस्पि र दुगदोवाका पुत्र जरथ्रुष्ट या जोरास्टरलाई मानिन्छ, जसको पारिवारिक नाम स्पितमा थियो ।

यिनै जरथ्रुष्टले हखमनी शासन कालमा फारसका मानिसहरूसँग भएको प्राचीन अवेस्ताका बचेखुचेका पुस्तकहरू र मानिसहरूका आ–आफ्ना स्मृतिलाई सङ्ग्रह गरेका थिए । शातीरमा हखमनी राज्यकालमा जर्थ्रुस्त्रलाई भेटन व्यास हिन्दबाट आएको उल्लेख छ । यसका आधारमा हेर्दा पनि व्यास ई.पू. ६५० तिरका देखिन आउँछन् । अर्थात् कृष्ण द्वैपायन व्यास र जरथ्रुष्टको जीवनकाल एकै थियो ।“अकनूं बिरहमने व्यास नाम अज हिन्द आमदबस दाना कि अकल चुना नस्त“ (हिन्दबाट आएका व्यास नामक एक ब्राम्हण बराबर अकलमन्द अरू छैनन् )

“चूं व्यास हिन्दी बलख आमद, गश्ताशप जरदश्त राव ख्वान्द“ (जब हिन्दबाट व्यास आए तब इरानका बादशाह गश्तासपले जरदश्तलाई बोलाए) । यहाँ जरदश्त भन्नाले जरथ्रुष्ट नै हुन् ।शातीरमै व्यासको बचन पनि लेखिएको छ, “मन मरदे श्रम हिन्द निजाद“ (म हिन्दमा जन्मेको एक पुरुष हुँ ।) र अन्त्यमा,“व हिन्द वाज गश्त“(फेरि ऊ हिन्दतिर फर्कियो) भन्ने वाक्य समेत छ ।

यस तथ्यका आधारमा हेर्दा व्यास ऋषिको जीवनकाल ६५० ई.पू.तिर मात्र देखिन आउँछ । यदि कृष्ण द्वैपायन वेदव्यास अर्थात् नै महाभारतको मूल रचनाकार हुन भने महाभारत ६५० ई.पू. भन्दा पछिकै रचना हो ।

(विपुल सिजापतिको फेसबुकबाट साभार गरियो)