काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र उनकी चौथो पत्नी तथा नायिका शिल्पा पोखरेल जेल पर्न सक्ने भएका छन् । छविराजकी जेठी श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेपछि उनीहरु कानुनअनुसार जेल पर्न सक्ने भएका हुन् । छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार छवि शिल्पाविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा वहुविवहाको मुद्दा दर्ता गराएकी हुन्। उनले यसअगाडि आफुले कुनै प्रमाण नभेटेको र अहिले आफु प्रमाणसहित दुवैलाई मुद्दा दायर गरेको बताएकी छिन्।

बहुविवाहको उजुरी परेपछि प्रहरीले आवश्यक अनुसन्धान गर्न पक्राउ गर्नु पर्ने हुन्छ । अब छवि–शिल्पा पक्राउ पर्नेछन् र उनीहरु दोषी देखिए जेल पर्ने कानुनी प्रावधान रहेको छ । शिल्पाले केही दिन अघि आफूमाथि घरेलु हिंसा भएको भन्दै छविविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले दुर्व पक्षलाई बोलाएर छलफल गरेको थियो। सो छलफलमा छविले माफी मागेपछि शिल्पाले उजुरी फिर्ता लिएकी थिइन् । तर, यसको केही दिनमै शिल्पाले छविराजविरुद्ध अंश मुद्दा हालेकी थिइन् ।

शिल्पाले अंश मुद्दा हालेपछि निर्माता छविले नयाँ चाल रचेको चलचित्र क्षेत्रमा चर्चा भइरहेको छ । गएको भदौ गतेबाट लागू भएको कानुनअनुसार बहुविवाह गरि आएकी महिलाले अंश नपाउने र सो विवाहलाई कानुनी मान्यता दिँदैन । छवि–शिल्पाले ६ महिनाअघि विवाह दर्ता गरेको बताइएको छ । यदी भदौ १ गतेपछि उनीहरुबीच विवाह भएको भनि विवाह दर्ता गरेको हो भने छवि शिल्पाबीचको विवाहले कानुनी मान्यता पाउने छैन भने दुवै जेल पर्नेछन् । बहुविवाह भएको जानकारी भएको मितिले ३ महिनाभित्र उजुरी दिनु पर्ने कानुनी प्रावधान छ । यदी ३ महिनापछि दिएको उजुरीले कुनै कानुनी हैसियत पाउने छैन । शिल्पालाई अंश नदिन छविले आफैं जेल पर्ने गरि कदम चालेको चर्चाले चलचित्र क्षेत्र तताउन थालेको छ ।

बहुविवाह गरि आएकी शिल्पाले छविबाट अंश पाउँदिनन् भने बहुविवाहको आरोपमा जेल पनि पर्नेछिन् । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५ को उपदफा ४ बमोजिम बहुविवाह गर्ने महिला पुरुष दुवैलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।

सोही दफाको उपदफा ५ मा बहुविवाह स्वतः बदर हुने उल्लेख छ । यही गएको भदौ १ गतेपछि उनीहरुबीच विवाह भएको पुष्टि भएमा सो विवाह बदर हुनेछ र जेलसहित नगर जरिवानामा पर्नेछन् ।

यदी भदौ १ गते अगाडि विवाह गरेको प्रमाण पेश गरेमा मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७५को उपदफा ६ ले उनीहरुको विवाहले कानुनी मान्यता पाउने छ र शिल्पाले अंश पाउने छिन् ।  शिल्पालाई अंश नदिने चलखेलअनुसार बहुविवाहको मुद्दा दायर गरिएको बताइएको छ । यसमा पत्रकार प्रकाश सुवेदी, स्वागत नेपाल, रेखा थापाको भूमिका रहेको चर्चाले चलचित्र क्षेत्र तताएको छ ।