काठमाडौं ।  तत्कालीन राजा महेन्द्र शाहलाई राष्ट्रवादी राजाको रुपमा नेपाली इतिहासमा चिनाइएको छ ।, यद्यपी यसबारे विवाद पनि नभएको भने होइन । महेन्द्रपछि तत्कालीन एमालेका अध्यक्ष तथा नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याए । सार्वभौम सम्पन्न संविधान सभाले संविधान जारी गरेसँगै नेपालमा नाकाबन्दी लगाउन भारतको कडा विरोध गरेर ओलीले एकाएक राष्ट्रवादी छवि बनाए । तर, दोस्रोपटक प्रधानमन्त्री भएसँगै ओलीको राष्ट्रवादी छवि स्खलित हुन पुगेको वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको बुझाइ छ ।

उनकाअनुसार चुनावताका मुलुकमा एक वर्षभित्रमा पानी जहाज आउने बताएका प्रधानमन्त्री ओलीले डेढ वर्ष बितिसक्दा परीणाम दिन सकेनन् । बरु आफ्नो असक्षमता लुकाउन प्रधानमन्त्री ओली प्रतिपक्षी कांग्रेसमाथि खनिएका पत्रकार दाहालको भनाइ छ । राष्ट्रवाली छवि बनाएर नेपालीको मन जितेर आशा जगाएका ओलीको प्रधानमन्त्री कार्यकालमै भारतीय सुरक्षाकर्मीहरु सुरक्षाकर्मीकै पोशाकमा हतियारसहित नेपाल आएको उनले बताए ।

क्यानडानेपालका सन्तोष निरौलासँगको कुराकानीका क्रममा पत्रकार दाहालले अघिल्लो वर्ष ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागितामा जनकपुरमा भएको कार्यक्रमका बेला भारतीय सुरक्षाकर्मीहरु सुरक्षाकर्मीको पोशाक र हतियारमा आएका बताए । जसले मुलुक राष्ट्रियता र स्वाभिमानप्रति प्रश्न उठाएको उनको भनाइ छ । जानकारी दिएर सादा पोशाकमा हतियारसहित सुरक्षाकर्मी नेपाल आउन पाउने भए पनि सुरक्षाकर्मीकै पोशाकमा आउनु गलत भएको दाहालले बताए । नेपालको राजनीति, विकाससहित समग्र मुलुकको अवस्थाबारे उनीसँग गरिएको यो भिडियो अन्तर्वार्ता: