काठमाडौँ । सत्तारुढ नेकपाले ७७ जिल्लाको र ६ महानगरपालिका कमिटीको इन्चार्ज र सहइन्चार्ज तोकेको छ । स्कुलसहित विभिन्न विभागको नेतृत्वको तोक्ने गरि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ६ महानगरपालिकासहित ७७ वटै जिल्ला इन्चार्ज र सह–इन्चार्जको टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार टुंगो लागेका इन्चार्ज र सहइन्चार्जको नाम उनले आइतबार बेलुकीसम्म नामावली सार्वजनिक गरिने छ । बैठकबाट बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले दुइटा साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सह–इन्चार्ज तोकिएको जानकारी दिए ।

तर, आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन । विशेषगरी स्कुल विभागमा पूर्वमाओवादीले नारायणकाजी श्रेष्ठ र पूर्व एमालेले ईश्वर पोखरेलको नाममा अडान लिएपछि टुंगो लगाउन नसकेको हो । यसअघि आइतबार बिहान प्रचण्ड निवास खुमल्टारमा बसेको पूर्व माओवादी नेताहरुको बैठकले श्रेष्ठलाई स्कुल विभागको प्रमुख बनाउन अडान लिने निर्णय गरेको थियो ।

संगठन विभागको जिम्मेवारी वामदेव गौतमलाई दिइएको भनिएको थियो ।तर, प्रवक्ता श्रेष्ठले गौतमलाई संगठन विभाग दिने सहमति नभएको जानकारी दिए । उनले संगठन प्रमुखमा गौतमको नामलाई अस्वीकार गरे ।

विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

हेर्नुस् कुन जिल्लामा को भए इन्चार्ज र सह–इन्चार्ज ?