सुदिप पाैडेल, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य वामदेव गौतम पुनः शक्तिशाली बन्ने प्रयासमा लागेका छन् । पार्टीले अध्यक्षपछिको शक्तिशाली ‘संगठन विभाग’ को प्रमुख बनाएपछि गौतम एकाएक चर्चामा आएका छन् । पार्टीका सबै शीर्ष नेताहरू सांसद भए पनि गौतम मात्र संसद् बाहिर छन् । उनी बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका थिए । आफूलाई पार्टी नेतृत्वबाट षड्यन्त्र गरी हराइएको उनले आरोप लगाउँदै आएका छन् ।

तत्कालीन नेकपा एमालेको संसदीय दलको नेता हुँदै नवौं महाधिवेशनबाट अध्यक्षमा ओलीलाई जिताउन गौतमले मुख्य भूमिका खेलेका थिए । २०७४ सालको संसदीय निर्वाचनमा बर्दियाबाट पराजित भएपछि भने पार्टी संस्थापनले नै असहयोग गरेको भन्दै रुष्ट बनेका थिए । पूर्वएमाले र माओवादी केन्द्रबीचको एकतामा सहजीकरण गरेका गौतम एकतापछि कुनै भूमिका नपाएपछि सार्वजनिकरूपमै ओलीप्रति आक्रामक बनेका थिए । ओलीले शक्ति आफूमै केन्द्रीकृत गरेको भन्दै गौतमले शक्ति बाँडफाँटको कुरा जोडतोडले उठाएका थिए ।एउटा अध्यक्षले पार्टी र अर्कोले सरकार चलाउनुपर्ने माग स्थायी समिति बैठकमै राखे ।

गौतमको त्यो प्रस्ताव अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सल्लाहमा आफूलाई कमजोर बनाउने रणनीतिअन्तर्गत आएको बुझाइ ओलीको रह्यो । र, त्यसको प्रतिवादमा संगठन विभाग प्रमुखमा ओलीले रामबहादुर थापा बादललाई अघि सारे । पार्टीभित्रै अल्पमतमा पर्दै गएपछि बाध्य भएर गौतमलाई जिम्मेवारी दिने ठाँउमा ओली पुगेको विश्लेषण गर्न थालिएको छ । १४ महिनादेखि पार्टी गतिविधि ठप्प हुनु, सरकारको काम प्रभावकारी नहुनु र नेताहरुबीच असन्तुष्टि बढ्दै जानुले पनि ओलीविरूद्धको घेराबन्दी बलियो बन्दै थियो । त्यही कारण ओलीले नचाहेर पनि गौतमलाई शक्तिशाली संगठन विभाग दिनुपरेको पार्टीकै कतिपय नेताको बुझाइ छ ।

पार्टी अध्यक्षदेखि प्रधानमन्त्री बनाउन साथ दिएका गौतमलाई आगामी महाधिवेशनका लागि आफ्ना पक्षमा शक्ति सञ्चय गर्न पनि ओलीले गौतमलाई अघि सारेको हुन सक्ने एकथरीको बुझाइ छ । २०५१ सालमा तत्कालीन एमालेको संगठन विभाग प्रमुख र उपमहासचिवको जिम्मेवारी पाएका गौतम आगामी महाधिवेशनमा कसलाइ साथ दिन्छन् ? त्यो भने अहिल्यै भन्न कठिन छ । तर, नेकपाका नेताहरू अर्का अध्यक्ष प्रचण्डको दबाबमा गौतमलाई संगठन विभागको प्रमुख बनाइएको बताउँछन् । प्रचण्ड र गौतमबीच केमेस्ट्री पनि मिल्छ ।

स्रोतका अनुसार प्रचण्डले एकपटक गौतमलाई प्रधानमन्त्री बनाएर आफू पार्टी अध्यक्ष बन्ने बताउने गरेका छन् । यसले गर्दा पनि आगामी महाधिवेशनमा गौतमले ओलीलाई भन्दा प्रचण्डलाई साथ दिन सक्ने अनुमान गर्न सकिन्छ ।