काठमाडौं ।  तत्कालीन एमाले र तत्काली माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभागीय प्रमुख तोक्ने कार्य भइरहेको छ । फरक उद्देश्य र सिद्धान्त लिएर हिँडेका दुई पार्टीको एकतापछि गठन गरिएको नेकपाले पार्टी गठन भएको एक वर्ष बितिसक्दा पनि विभागीय प्रमुख तोक्ने सकेको छैन । आन्तरिक विवादका कारण विभागीय प्रमुख तोक्न नसकेको नेकपाको आइतबार बस्ने सचिवालय बैठकले स्कुल विभागमा प्रमुख तोक्ने तयारी गरेको छ ।

पूर्व एमालेले ईश्वर पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने बताइरहेको छ भने पूर्वमाओवादीले नेता नारायणकाजी श्रेष्ठको नाममा अडान लिँदै आएको छ । पूर्व एमालेलाई दबाब सृजना गरि श्रेष्ठलाई स्कुल विभागको जिम्मेवारी दिन बल पुग्ने गरि पूर्व माओवादीका नेताहरुले निर्णय गरेका छन् । ललितपुरको खुमल्टारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आइतबार घण्टौं बसेको पूर्व माओवादीको बैठकले पार्टीको स्कुल विभागमा आफ्नो पक्षको अडान कायम राख्ने निर्णय गरेका हुन् । जस कारण पूर्व एमालेले स्कुल विभाग प्रमुखमा अघि सारेको ईश्वर पोखरेल आउट हुने देखिएको छ ।

पछिल्लो समय नेकपामा तत्कालीन एमालेले लिएको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’(जबज)लाई नेकपाले अस्वीकार गर्न नसकिने बताउँदै आएका पोखरेलप्रति पूर्व माओवादीका नेताहरु असन्तुष्ट रहँदै आएका थिए । उनले प्रचण्डविरुद्ध अभिव्यक्ति दिँदै हिँडेको पूर्व माओवादीका नेताहरुको बुझाइ रहँदै आएको छ ।

नेकपाभित्र अधिकांश विभागको नेतृत्वका सम्बन्धमा मौखिक सहमतिमा टुंग्याएको भए पनि स्कूल विभागमा भने दुवै पक्षको अडान कायम रहेपछि छलफलमा गएको हो । पूर्व एमालेले स्कुल विभागमा ईश्वर पोखरेललाई अघि सारेको छ भने पूर्व माओवादीले भने नारायणकाजी श्रेष्ठको नाममा अडान लिएको छ ।

आइतबार प्रचण्ड निवासमा बसेको बैठकले श्रेष्ठको पक्षमा एक भएर अघि बढ्ने तत्कालीन माओवादीका नेताहरुको निर्णयले पूर्व एमालेलाई धक्का मात्रै लागेको छ । यदी पूर्व माओवादीले अडान कायमै राखेको खण्डमा ईश्वर पोखरेल आउट नै हुने देखिएको छ ।