काठमाडौँ । मलेसियाले अवैधानिक विदेशी कामदारलाई आममाफी दिने भएको छ । मलेसियाले अवैधानिक विदेशी कामदारलाई यस वर्ष पनि घर फर्किने अवसर दिन लागेको त्यहाँको सञ्चार माध्यम मलाय मेलले उल्लेख गरेको छ । मलाय मेलकाअनुसार विभिन्न कारणले अवैधानिक हुन पुगेका नेपालीसहित सबै विदेशी नागरिकलाई आममाफी दिएर घर फर्किने अवसर प्रदान गर्न लागेको हो ।

मलेसियाले भिसा अवधिभन्दा धेरै बसेका, कागजपत्रबिहीन भएका वा अन्य कारणले अवैधानिक हुन पुगेकालाइ आउँदो अगष्ट १ देखि डिसेम्बर ३१ सम्मको समय दिएर घर फर्किने अवसर प्रदान गर्न लागेको हो । गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ताको अवसर दिनका लागि मलेसियाले ‘द ब्याक फर गुड प्रोग्राम’ सञ्चालन गर्न लागेको मलाय मेलले जनाएको छ ।

अवैधानिक विदेशी कामदार स्वदेश फर्किनका लागि ७ सय मलेसियन रिंगिट तिर्नुपर्छ । साथै, यो कार्यक्रममा समावेश भएको सात दिनभित्र आधिकारिक कागज जस्तै पासपोर्ट, आपतकालीन यात्रा अनुमतिपत्र र घर फर्किने टिकट आफैंले उपलब्ध गराउनु पर्छ । यो कार्यक्रम मलेसियाको अध्यागमन विभाग आफैंले सञ्चालन गर्ने भएकाले कुनै पनि एजेण्ट वा बिचौलियाको भर नपर्न पनि अनुरोध गरिएको छ ।