काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो चरित्र हत्या गर्न सत्तारुढ नेकपाका नेताहरु लागि परेको आरोप लगाएका छन् । आफ्नो खातामा ६१ करोड कालोधन भेटिएको समाचारबारे प्रकाशित भएपछि शुक्रबार अपरान्ह काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता बस्नेतले आफ्नो खातामा ६१ करोड रुपैयाँ नरहेको बताए ।

स्रोत नखुलेको ६१ करोड भेटिएको र त्यसबारे अनुसन्धान सुरु भएको भन्ने समाचार सार्वजनिक भएसँगै राजनीतिक भविष्य नै संकटमा पर्न थालेपछि उनले पत्रकार सम्मेलन गरेर आफूसँग स्रोत नखुलेको रकम नै नरहेको जिकीर गरे । प्रेस स्वतन्त्रतालाई अंकुश लगाउने गरि सरकारले ल्याएको ‘मिडिया काउन्सिल विधेयक’विरुद्ध आवाज उठाएकाले सत्तारुढ नेकपाका नेताहरु आफ्नो बद्नाम गर्न लागि परेको आरोप लगाएका उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा सधैं रहने स्पष्ट पारे ।

आफूविरुद्ध आएको निराधार समाचारले आफ्नो अडान र सिद्धान्तमा असर नगर्ने भन्दै पूर्वमन्त्री बस्नेतले प्रेस स्वतन्त्रताविरुद्ध सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको बताए । प्रणामी बचत तथा ऋण सहकारी संस्थामा नेता बस्नेतको ६१ करोड रहेको भन्ने समाचार प्रकाशित भएको थियो ।

बिहीबार पूर्वमन्त्री बस्नेतको नाममा ६१ करोड रुपैयाँ कालोधन भेटिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको जनाएको थियो । तर, उनले आफूविरुद्ध प्रायोजित ढंगले समाचार बाहिर ल्याइएको र त्यो सबै झुटो रहेको दाबी पनि गरे ।