काठमाडौं । विश्वमा महिलामाथि थिचोमिचो हुने गरेको विषय बहस पाउने गरेको छ । अझ गरिबी तथा गृहयुद्धमा फसेका देशका महिला विभिन्न हिंसा सहन बाध्य भएका छन् । दक्षिण एसियामा धार्मिक कारण देखाउँदै र दाइजो प्रथाले छोरी जन्माउन नचाहनेको संख्या पनि उत्तिकै छ । छोरीदेखिमा गर्भको भ्रुण हत्या गर्ने गरिएको विषयले अधिकारको क्षेत्रमा काम गरेकाहरुले विरोध जनाएका थिए । भारतमा छोरी जन्माउन प्रोत्साहन तथा छोरीप्रतिको भेदभाव हटाउन भन्दै चलचित्र निर्माण गर्न लागिएको छ ।

महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउँदै ‘बधाई हो बेटी हुइ हे’ चलचित्र निर्माण गर्न लागिएको हो । भारतको राँचीस्थित सरला विरला स्कूलमा चलचित्रको शुभ मुहुर्त गरिएको छ । पर्यटन तथा कला संस्कृति मन्त्री अमर बावरीले चलचित्रको शुभ मुहुर्त गरेका हुन् ।

चलचित्रमा यामिनी सृष्टि मुख्य भूमिकामा छिन् भने बुबाको भूमिकामा गजेन्द्र ठाकुर छन् । चलचित्रले छोरीहरुले समाजमा स्थापित हुन गरेको संघर्ष र महिला समानता तथा महिला शसक्तिकरणको इतिहासमा भारतलाई चिनाउने अपेक्षा गरिएको छ । साँढे ६ करोड लगानीमा बनिरहेको चलचित्र ‘बधाई हो बेटी हुइ हे’को सुटिङ झारखण्डमा हुनेछ ।