काठमाडौं । एक साता अघिदेखि परेको अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ । बिहीबारदेखि परेको भीषण वर्षाले पहाडी क्षेत्रमा गएको पहिरो र तराई क्षेत्रमा बाढी र डुबानका कारण ज्यान गुमाउने संख्या ७८ पुगेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार मंगलबार दिउँसो साढे १२ बजेसम्म मुलुकको विभिन्न जिल्लामा बाढी पहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ७८ पुगेको हो । अझै ३२ जना बेपत्ता भएका जानकारी दिएको केन्द्रले ४० जना घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ६६ जनाको उद्धार गरिएको केन्द्रको भनाइ छ । यसैगरी पीडितहरुलाई राहत वितरण कार्य पनि भइरहेको केन्द्रले जनाएको छ ।