रोहित शर्मा । असार ३१ गते मंगलबार गुरूपूर्णिमा । यस दिन चन्द्र ग्रहण लाग्दैछ । बुधबार बिहान १ बजेर ४५ मिनेटदेखि ४ बजेर १५ मिनेटसम्म चन्द्र ग्रहण लाग्नेछ ।खगोल शास्त्रअनुसार चन्द्र ग्रहण एक प्राकृतिक घटना हो । यो एक खगोलशास्त्रको अध्ययनभित्र पर्दछ, जसमा चन्द्रमालाई एक संक्षिप्त अवधिका लागि आंशिक या पूरा तरिकाले छाया पर्ने गर्दछ । सूर्य ग्रहण अपेक्षाकृत रूपमा दुर्लभ हुन्छ भने, चन्द्र ग्रहण वर्षमा दोहोरो वा तीनपटक समेत पर्ने गर्दछ । विभिन्न परम्परा र समुदायको संस्कृति अनुसार चन्द्र ग्रहणलाई फरक फरक रूपमा हेर्ने गरिन्छ । जब पृथ्वी चन्द्रमा र सूर्यको बीचमा आउने गर्दछ, तब चन्द्र ग्रहण हुने गर्दछ ।

रोचक कथा – एक समय देवता र असुरहरूबीच शृंखलाबद्ध युद्ध हुन्छ, जसमा दुवैतर्फ ठूलो जनधनको क्षति हुन्छ । त्यसबीचमा देवताहरूले दुग्धसागर मन्थन गरी त्यहाँबाट निस्केको पदार्थलाई प्रयोग गर्दा अमृत्व प्राप्त गर्ने सल्लाह पाउँछन् । तर देवताहरूले मात्र त्यो दुग्धसागरलाई मन्थन गर्न नसक्दा असुरहरूको समेत साथ माग्छन्, साथै एउटा भयंकर ठूलो सर्प बासुकीलाई समेत रस्सीको रूपमा प्रयोग गर्दछन् । सागर मन्थनपश्चात् एक किसिमको रस निस्कँदछ, जसलाई देवताहरूले असुरहरूलाई झुक्क्याई आफूबीच बाँड्छन्, जसको सुइँको एक धूर्त राक्षस स्वर्भानुले पाउँछ । सूर्यदेव र चन्द्रदेवको बीचमा उभिएर सो अमृतलाई पाउँछ । यो खबर चन्द्रदेव र सूर्यदेवले भगवान विष्णु भगवानलाई सुनाउँछन् ।

विष्णु क्रोधित भई त्यो राक्षसको बध गर्छन् । तर त्यसबेलासम्म राक्षसले त्यो अमृत ग्रहण गरिसकेको र अमृत्व प्राप्त गरिसकेको हुन्छ । उसको काटिएको टाउको र शरीर तत्पश्चात राहु र केतुको रूपमा आएको भन्ने हिन्दु धर्ममा मान्यता छ ।यस घटनापछि राहु र केतु क्रोधित भएको किंवदन्ती छ । आफूलाई भएको अन्यायको बदला लिन सूर्य र चन्द्रलाई निल्न खोज्छन्, तर त्यसबेलासम्म सूर्य र चन्द्रदेवले अमृत्व प्राप्त गरिसकेका हुन्छन् । जसले गर्दा राहु र केतु मार्न असफल हुन्छन् । तर केही समय वा अवधिका लागि निल्न मात्र सक्छन्, त्यसकारण राहु र केतुले सूर्य र चन्द्रमालाई केही समयका लागि निल्दा छायाँ अथवा ग्रहण लागेको भन्ने पौराणिक मान्यता छ ।