काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनाएको राष्ट्रवादी छवि धुमिल्याउँदै गएका छन् । आफ्नो जीवन नै राजनीतिमा समर्पित गरेर देश र जनताका लागि लडेका ओलीले पछिल्लो समय आफ्नै छवि धुमिल्याउँदै गएका हुन् । पहिलोपटक प्रधानमन्त्री हुँदा भारतसँग नझुकेर नाकाबन्दीविरुद्ध लड्दा ओलीले आफूलाई राष्ट्रवादी नेताको रुपमा उभ्याए । जनताले विश्वास गरे, दोस्रोपटक प्रधानमन्त्री बनाए । तर, अहिले विस्तारै उनको छवि धुमिलिँदै मात्रै गएको छैन, जनताको उनीप्रति मोह घट्दै गएको पनि छ । कारण, उनलाई आफन्त मोहले गाँजेको छ । पहिलेदेखि नै आफू नजिकका नेतालाई मौका दिने र आफूपरस्त नेतालाई कुनै पनि भूमिका नदिने उनको चरित्रले अन्ततः बनेको राष्ट्रवादी छवि गिर्न थाल्यो ।

आफूनिकट मानिएका विद्यादेवी भण्डारीलाई तत्कालीन एमालेको पार्टी उपाध्यक्ष हुँदै राष्ट्रपति बनाउन ओलीको भूमिका अहंम रहेको चर्चा चलेको थियो । यस्तै शेरधन राईलाई सञ्चार मन्त्री हुँदै प्रदेश १ मुख्यमन्त्री बनाएका अध्यक्ष ओलीले तत्कालीन एमालेको सचिव शंकर पोखरेललाई प्रदेश ५ को मुख्यमन्त्री बनाए । तत्कालीन एमालेका अध्यक्ष हुँदा आफूनिकट नेताहरुलाई मात्रै काखी च्यापेर अरुलाई बाइपास गरेको आरोप ओलीमाथि लागेको थियो । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए । माओवादीसँग मिलेर नयाँ पार्टी नेकपा गठनपछि पनि ओलीको आफूनिकटलाई मात्रै काखी च्याप्ने बानी नहटेको चर्चा सोही पार्टीभित्र हुने गरेको छ । बालुवाटारमा तत्कालीन माओवादीबाट नेकपाका नेता बनेकाहरुलाई प्रवेश कठिन रहेको छ ।

आसेपासे र आफ्नो चाकडी गर्नेहरूलाई अतिरिक्त संरक्षण गर्दै आएका प्रधानमन्त्री ओली स्वयमका कारण पनि वर्तमान सरकार आलोचित बन्दै गएको चर्चा सत्तारुढ नेकपाभित्र बाक्लै हुँदै आएको छ । यति आलोचित हुँदाहुँदै पनि प्रधानमन्त्री ओलीले आफूलाई आसेपासेबाट टाढा राख्न नसक्नुको कारण भने बुझ्न नसकिएको नेकपाका कार्यकर्ताहरू बताउँछन् । यसरी आफ्ना आसेपासेलाई संरक्षण र नियुक्त दिँदा अधिकांश दक्ष र इमान्दार नरहेका प्रष्ट भएको छ । उनीहरु पटक पटक विवादमा पर्दै आएका छन् । प्रधानमन्त्री ओलीले सञ्चार मन्त्री बनाए गोकुल बाँस्कोटाको अभिव्यक्ति र व्यवहार विवादमा पर्दै आएको छ । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल पनि विवादमा पर्दै आएका छन् । सरकारको सचिवदेखि योजनाको आयोगको उपाध्यक्ष, राष्ट्र बैंकको गर्वनर हुँदै अहिले अर्थमन्त्री बनेका युवराज खतिवडा पनि विवादमा पर्ने गरेका छन् । प्रधानमन्त्री ओलीले एकपछि अर्काे मौका दिँदै अर्थमन्त्रीसमेत बनाएका खतिवडाका कारण शेयर बजार ओरालो मात्रै होइन अर्थतन्त्र नै धरापमा पर्दै आएको चर्चा अर्थक्षेत्रमा चल्ने गरेको छ ।

प्रधानमन्त्री ओलीले अहिले नातामा साली पर्ने अन्जान शाक्यलाई इजरायलको राजदूत बनाए । उनी कूटनीतिबारे कुनै दखल नै नभए भन्दै पार्टीभित्रबाटै विरोध जनाइएको थियो । तर, प्रधानमन्त्री ओलीले शाक्यलाई राजदूत बनाएरै छाडे । समिम मियाँ अन्सारीविरुद्ध दुईवटा नागरिकता, फरक फरक जन्ममिति भएका प्रमाणसहित संसदीय समितिमा उजुरी परेको थियो । तर, यसरी विवादमा परे पनि प्रधानमन्त्री ओलीले उनलार्ई मुस्लिम आयोगको अध्यक्ष बनाए ।

प्रधानमन्त्री ओलीले विवादमा परेका आफूनिकटलाई सरकारी जागिर खुवाएको चाङ बाक्लै छ । विवादमा परेका पीताम्बर तिमिल्सिनालाई राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त गरेका प्रधानमन्त्री ओलीले स्काउटको सदस्य सचिव बनाइएका लोकबहादुर भण्डारी पनि विवादित मानिस हुन् । पछिल्लो समय अर्का विवादित तर ओलीका नजिकका भनेर चिनिएका रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बनाइएको छ । गोल्डेन गेट कलेजका सञ्चालक सिलवाल तिनै व्यक्ति हुन्, जो एमबीबीएसको प्रश्नपत्र बेच्ने प्रकरणमा समेत मुछिएका थिए । क्यानको समानन्तर कमिटी गठन गरेर क्रिकेट क्षेत्रलाई अघि बढ्न नदिएका सिलवाल अहिले राखेपको सदस्य सचिव बनाइएको छ ।

यसरी विवादित तर आफूनिकटलाई काखी च्याप्ने र अरुलाई ढिम्किन नदिने आफ्नै प्रवृत्तिले राष्ट्रवादी नेताको रुपमा बनाएको छवि धुमिल बन्दै जाँदा प्रधानमन्त्री ओली अझै सचेत नभएको देखिन्छ । देश र जनताका लागि जेल जीवनसमेत बिताएका प्रधानमन्त्री ओलीबाट जनताले धेरै आशा र विश्वास गरेका छन् ।