काठमाडौं । इन्डियन इन्टरनेसनल फिल्म अवार्ड (आईफा) को २०औं संस्करण नेपालमा हुने कि नहुने भन्ने विषय अहिले सामसुम छ । राज्यको समग्र ध्यान बाढीपहिरोतर्फ गएको अवसर पारेर आईफा आयोजक टोली काठमाडौं आइपुगेको छ । बिजक्राफ्टका निर्देशक सभास जोसेफसहितको टोली काठमाडौं आएको हो । जोसेफसहितको टोली हालै खुलेको नयाँ पाँचतारे होटल मेरियटमा बसेको छ । टोलीले नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, उद्योग परिसंघ, एनसेललगायतका संस्थासँग काठमाडौंमा अवार्ड आयोजना गर्नेबारे छलफल गरिसकेको बताइएको छ ।

नेपाल सरकारले आईफा अवार्डलाई सिधै पैसा दिन नमिल्ने भएपछि निजी क्षेत्रका संघसंस्थासँग मिलेर काठमाडौंमै अवार्ड आयोजना गरिने आयोजक बिजक्राफ्टको तयारी छ । त्यसका लागि १५–२० दिन ढिलो अवार्ड आयोजना गरिनेछ । सन् २००० देखि सुरु भएको आईफा अवार्ड फरक फरक देशमा हुँदै आएको छ ।

आईफा सचिवालयले यसपटकको अवार्ड नेपालमा गर्ने पत्राचारलाई नेपाल सरकारले स्वीकृत गरिसकेको छ । साथै, नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौं महानगरपालिका सहआयोजक रहने गरी ४४ करोड रुपैयाँ दिने निर्णय भइसकेको थियो । तर, चौतर्फी विवाद भएपछि यो विषय अहिले स्थगित भएको छ ।

निजी क्षेत्रले योगदान गर्ने भयो उनीहरूसँग भएको सम्झौताको स्वामित्व र त्यसको कार्यान्वयनको सुनिश्चिततासँग एकमुष्ट नगदको ग्यारेन्टी नेपाल सरकारले गरिदिनुपर्ने बिजक्राफ्टको माग छ । यसका लागि प्रधानमन्त्री केपी ओलीसँग भेटेर कुराकानी गर्न जोसेफसहितको टोली समय कुरेर बसेको छ । प्रधानमन्त्री ओलीको व्यस्तताका कारण उनीहरूले भेट्न सकिरहेका छैनन् ।