काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक मुलुक दक्षिण कोरियाले न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । बढेको पारिश्रमिक कार्यान्वयनमा आउन अगस्ट ५ मा संसदले पारित गर्नुपर्ने छ । पारित भएमा आउँदो वर्षको जनवरीदेखि डिसेम्बरसम्मको पारिश्रमिक २.९ प्रतिशतले बढ्ने भएको हो । न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै ईपीएसमार्फत् कोरिया पुगेका हजारौं नेपाली कामदारहरु लाभान्वित हुनेछन् ।

सरकार, मजदुर संगठन र व्यवसायीका प्रतिनिधिबीच भएको छलफलबाट निष्कर्ष निकाल्न नसकेपछि मतदानबाट पारिश्रमिक वृद्धि गर्ने निर्णय लिइएको हो । नयाँ पारिश्रमिकअनुसार श्रमिकले सन् २०२० का लागि प्रतिघण्टा ८ हजार ५ सय ९० वन (७.३२ डलर) पाउने छन् । यस वर्षको न्यूनतम ज्याला प्रतिघण्टा ८ हजार ३ सय ५० वन छ ।

ज्याला वृद्धि भएसँगै साताको न्यूनतम ४० घण्टा नघटाई मासिक मासिक २०९ घण्टा काम गर्ने श्रमिकले १७ लाख ९५ हजार ३ सय १० वन अर्थात् १ लाख ६६ हजार ७ सय ७१ रुपैयाँ पाउने छन् । कोरियाली राष्ट्रपति मुन जाय–इनले राष्ट्रपतीय चुनावी अभियानका क्रममा सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वन पुर्याउने प्रतिबद्धता जनाएका थिए ।