काठमाडौं । वैदेशिक रोजगारीका लागि लाखौं नेपाली विदेशी भूमिमा पसिना बगाइरहेका छन् । नेपालमा खुलेका म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने अधिकांशलाई पठाउने गर्छन् । गाउँ गाउँमा एजेन्टका रुपमा मानिस खटाउने म्यानपावर व्यवसायीले पठाउनु अघि कामदारसँग भनेको र गरेको सम्झौताअनुसारको काम र तलबलगायतका सुविधा नपाएका प्रशस्तै गुनासो आउने गरेको छ । भनेको जस्तो काम र तलब नपाएपछि जाँदाको ऋण नतिरि कतिपय कामदार स्वदेश फर्किएका छन् । उनीहरुले क्षतिपूर्ति पाउने भए पनि प्रक्रियाबारे जानकारी नहुँदा ऋणमा डुब्नु परेको छ । यसैलाई ध्यानमा राखेर विदेश जाँदा गरेको सम्झौताअनुसारको तलब र काम नभएमा कसरी क्षतिपूर्ति लिन सकिन्छ भन्नेबारेमा जानकारी दिन खोजिएको हो ।

सबैभन्दा पहिले सम्झौताअनुसारको काम र तलब भएन भनेर वैदेशिक रोजगार विभागमा प्रमाणसहित निवेदन दिनुपर्छ । काम र तलब फरक भएको प्रमाणसहित निवेदन दिनका लागि पासपोर्ट र भिसाको प्रतिलिपी, कामका लागि गरिएको सम्झौता पत्र (श्रम सम्झौता), नागरिकताको प्रतिलिपी, आफूले बुझेको तलबको भरपाई, श्रम स्वीकृतीको प्रमाण र सक्भव भएमा आफूूले काम गरेको हाजिरीको अभिलेख आवश्यक पर्छ ।

सम्झौताअनुसार काम र तलब फरक पाएको मितिले एक वर्ष भित्रमा उजुरी गरिसक्नु पर्छ । तर, स्वदेश नफर्केको कामदारको हकमा भने फरक नियम छ । उनीहरु स्वदेश फर्केको एक वर्षभित्र विभागमा उजुरी दिइसक्नु पर्ने नियम छ । यदी कामदार स्वदेश नफर्केर पनि उजुरी दिन सकिन्छ । यसका लागि कामदारको आफन्तले प्रमाणसहित विभागमा उजुरी दिन सक्छन् ।  यसरी कामदारलाई झुक्याएर विदेश पठाउने म्यानपावरलाई विभागले एक लाख रुपैयाँ जरिवाना गर्न सक्ने नियम रहेको छ । सक्छ । त्यस्तै सम्झौता भन्दा कम तलब पाएमा नपाएको तलब म्यानपावरले दिनु पर्छ ।