काठमाडौं । मंगलबारदेखि परेको अविरल वर्षाले हालसम्म सात जनाको ज्यान लिइसकेको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले हालसम्म सात जनाको ज्यान गएको हो । रामेछाप, काभ्रे, भोजपुर, ललितपुर र पर्सामा गरी ७ जनाले जनाले ज्यान गुमाएका सम्बन्धि जिल्लाका प्रहरीले जानकारी दिएका छन् ।

प्रहरीकाअनुसार रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको ज्यान गएको हो भने अर्का एक जना घाइते छन् । यस्तै काभ्रेको बनेपा–३, नालामा पहिरो खस्दा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको ज्यान गएको हो । सोही पहिरोमा परेर गोमाकी बुहारी ३० वर्षीया सुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

भोजपुरमा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको निधन भएको छ भने टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको शौच गर्ने क्रममा पहिरोले पुरिएर ज्यान गएको छ ।

ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको निधन भएको छ । पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाउँदा १० बर्षका निखिल पटेलको निधन भएको प्रहरीले जनाएको छ ।