काठमाडौं । वैदेशिक रोजगारीका नाममा मात्रै होइन अध्ययनको बहानामा पनि हजारौं युवाहरु विदेश पहलायन भएका छन् । सरकारले खर्बाैं रुपैयाँ शिक्षामा लगानी गरे पनि अध्ययनका बहानामा युवाको विदेश जाने क्रममा कमी आएको छैन । अध्ययनका बहानामा आफ्नो आर्थिक अवस्था सुधार गर्ने हेतुले अधिकांश युवा बाहिर जानेको तथ्य सबैसामू छर्लङ्ग छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई सरकारले आत्मसाथ गरे पनि विभिन्न बहानामा भइरहेको युवा पहलायनलाई रोक्न सकेको छैन ।

रोजगारीको बहानामा मात्रै होइन अध्ययनको बहानामा विदेश जाने युवाहरुको संख्या वर्षेनी बढिरहेको छ । जसबाट मुलुकको अर्बाैं रकम बाहिरिएको छ । अध्ययनको बहानामा जाने मध्ये अधिकांश युवामा विदेश गएर काम गर्ने र पैसा कमाउने प्रमुख उद्देश्य देखिन्छ । यसर्थ मुलुकभित्रै युवालाई काम गर्ने वातावरण भएमा रकमसहित जनशक्ति नै मुलुकको समृद्धिमा परिचालित गर्न सकिन्छ ।

आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनासम्मको तथ्याङ्क हेर्दा ४९ हजार ५ सय ५६ जना नेपाली युवाले विदेशमा अध्ययन अनुमति अर्थात ‘नो अव्जेक्सन’ लेटर लिएको देखिन्छ । उनीहरुले १५ लाख रुपैयाँदेखि करिब ४० लाख रुपैयाँसम्म ट्युसन फि को रुपमा खर्च गर्ने कन्सल्टेन्सी सञ्चालकहरु बताउँछन् । विशेषत नेपाली विद्यार्थीहरुको चाप जापान, अष्ट्रेलिया, अमेरिका लगायत नै देखिन्छ । करिब एक विद्यार्थी बराबर २० लाख रुपैयाँ लिँदा पनि करिब ५० हजार विद्यार्थीको सरदर एक खर्ब रुपैयाँ विदेशिने देखिन्छ ।

त्यस्तै, अर्थिक वर्ष २०७४÷७५ मा त्यो संख्या बढेर ६८ हजारभन्दा बढी विद्यार्थीले अध्ययन भिषा लिएका छन् । यसैगरी, २०७३÷७४ मा ५० हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनको बाहनामा बाहिरिएको शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांकमा उल्लेख छ ।