कञ्चनपुर । सीमा रक्षाका क्रममा बलिदानी दिएका शहीद गोविन्द गौतमको शालिक अनावरण गरिएको छ । दुई वर्षअघि कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर ज्यान गुमाएका शहीद गोविन्द गौतमको सम्झनामा पुनर्वासमा निर्माण गरिएको शालिकको बिहीबार अनावरण गरिएको हो ।

पुनर्वासको आनन्द बजारमा कल्भर्ट बनाउने क्रममा विवाद हुँदा २०७३ फाल्गुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतमको ज्यान गएको थियो । गौतमको बलिदानीपछि पनि कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षको अतिक्रमण अझै नरोकिँदा स्थानीयवासी चिन्तित् छन् । सीमा विवाद अन्त्य गर्न दुवै देशका संयुक्त सीमा सर्भे टोलीले नक्साङ्कनको काम गरे पनि हालसम्म सीमा स्तम्भ भने निर्माण हुन सकेका छैनन् ।