काठमाडौं । शिल्पा पोखरेल नेपाली चलचित्र उद्योगकी अभिनेत्री हुन् । तीन वर्षअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन् ।तर, अहिले छविराजबाट आफू घरेलु हिंसामा परेको भन्दै शिल्पा न्यायको खोजीमा लागेकी छन् । केही दिन अघि सुरक्षाको माग राखेर प्रहरी परिसर काठमाडौंमा शिल्पाले निवेदन दिएपछि उनी घरेलु हिंसामा परेको बाहिरिएको हो । यसबारे बिहीबार प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलसमेत गरेको छ ।

सो क्रममा निर्माता छविराजले आफ्नो गल्ती स्वीकार्दै माफी मागेका छन् । प्रहरीले दुवै पक्षलाई मिलेर अघि बढ्न सुझाव दिएको छ । तर, शिल्पाले हिंसाको पीडा सहजै भूल्न नसक्ने संकेत दिएकी छन् । उनले घरेलु हिंसामा परेका महिलालाई आफ्नो पीडा सार्वजनिक गर्न अनुरोध गरेसँगै छविराजबाट पाएको पीडा भुल्न कठिन रहेको संकेत दिएकी हुन् । आफू छविराजबाट पीडित भएको बताएकी उनले आम महिलालाई कुनै पनि हिंसा नसहन अपिल गरेकी छन् । नायिका शिल्पाले केहि समय अघि देखि नै आफ्नो फेसबुकमा स्ट्याटस बाट आफ्नो पिडा घुमाउरो पाराले पोख्दै आएकी थीइन तर कसैले त्यसलाई वास्ता गरेका थिएनन् ।

नायिका शिल्पा पोखरेल छवि ओझाले निर्माण गरेको फिल्म लज्जा बाट नायिकाको रुपमा डेव्यु गरेकी हुन् । शिल्पाले दर्जनौ म्युजिक भिडियोहरु मा मोडलको रुपमा अभिनय गरिसके पछि छवि ओझाले उनलाई फिल्ममा नायिकाको रुपमा लिएका हुन् । शिल्पाले छवि ओझा बाहेक अरु निर्माताको फिल्ममा पनि काम गरेकी छिन तर ति फिल्महरु सफल हुन सकेनन् । छवि ओझा संग केहि फिल्ममा काम गरेकी शिल्पा र छविको प्रेम बढ्दै गए संगै यी दुई ले ३ वर्ष अघि सुटुक्क विवाह गरेका थिए ।