काठमाडौं । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको वैवाहिक सम्बन्धमा आएको तनाव अझै कम भएको छैन । पति छविराजबाट आफू पीडित भएको भन्दै सुरक्षाको माग राखेर काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी शिल्पा छविसँग वैवाहिक सम्बन्ध अघि बढाउने वा नबढाउने दोधारमा देखिएकी छन् ।

शिल्पाको निवेदनका आधारमा बिहीबार प्रहरीले दुवै पक्षलाई छलफलका लागि टेकुस्थित परिसर कार्यालयमा बोलाएको थियो । प्रहरीले बोलाएपछि छवि र शिल्पा दुवै परिसर पुगेका थिए । सो क्रममा प्रहरीले दुवै पक्षलाई मिलेर अघि बढ्न सुझाव दिएको छ । आफूबाट गल्ती भएको भन्दै छविले माफी मागेका छन् । सम्बन्धलाई सुधारेर वैवाहिक जीवन अघि बढाउन छविले शिल्पासँग प्रस्ताव पनि गरेका छन् ।

प्रहरीसँगको छलफलपछि बाहिरिने क्रममा छविराजले सम्बन्धविच्छेद नहुने प्रतिक्रिया दिए । घरेलु हिंसाबाट पीडित भएकी बताएकी शिल्पा भने छविसँगको सम्बन्ध टुंग्याउने या अघि बढाउनेमा अझै दोधारमा देखिएकी छन् । शिल्पाले घरभित्रको कुरा बाहिर ल्याएको भन्दै छविले गुनासो समेत गरे ।