काठमाडौं,चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा योग्य व्यक्ति ल्याउन माग गरेका छन्। उनले उपाध्यक्षका लागि अहिले गरिएको नियुक्ति प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै उक्त प्रक्रिया रोकेर नयाँ प्रक्रिया सुरु गर्न पनि माग गरेका छन्।

डा केसीले आज त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै त्रुटिपूर्ण नियुक्ति प्रक्रिया नरोके कडा आन्दोलनमा जाने चेतावनी पनि दिएका छन्।

सरकारले नियुक्ति प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने हैन कि योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाइदिने सर्तमा जिम्मेवारी सुम्पनुपर्छ।

यसका लागि हाल अघि बढेको उम्मेदवारहरुको छनोट प्रक्रिया तत्काल रोक्न सरकारसँग माग गर्दर्छौं’ उनले भने, ‘आयोगको उपाध्यक्षमा योग्यतम तथा कार्यक्षमता प्रमाणित भइसकेको व्यक्ति नियुक्त गर्न जोडदार माग गर्दर्छौं। त्यसो नगरिएमा कडा आन्दोलनका कार्यक्रमहरु ल्याउन बाध्य हुने जानकारी पनि गराउन चाहन्छौं।’

डा केसीले आयोग बनेपछि पनि पार्टीको स्वार्थअनुसार परिचालित हुने उपाध्यक्ष ल्याउने हो र आयोग नियमनको सट्टा मिलेमतोको बाटो लाग्ने हो भने सुधारको दिशामा अहिलेसम्म हात परेका उपलब्धिहरु गुम्ने निश्चित रहेको भन्दै चिन्ता व्यक्त गरे।

‘आयोगको संस्थापक उपाध्यक्ष अयोग्य मानिस वा पार्टीको कार्यकर्ता बन्नु भनेको यस क्षेत्रमा अहिलेसम्म देखा परेका यावत विकृतिहरुलाई झनै मौलाउन दिनु र चिकित्सा शिक्षा क्षेत्रको नियमन अस्तव्यस्त पार्नु हो,’ उनले भने।

डा केसीले आफूले माफियामुखी प्रावधानसहितको चिकित्सा शिक्षा ऐनको अपनत्व ग्रहण नगरे पनि र त्यसमा सुधारका लागि लडिरहेको भन्दै उपाध्यक्ष छनोटको विषयमा बोल्न बाध्य भएको जानकारी दिए।