काठमाडाै‌ । संस्कृतमा एघारौ दिनको तिथिलाई एकादशी भन्ने गरिन्छ । एकादशी भन्नेबित्तिकै हिन्दु पञ्चागको पात्रोमा एक पवित्र तिथि रुपमा लिने गरिन्छ । हिन्दु धर्मअनुसार यो दिन भरसक मानिसहरु आफ्नो तन र मन पवित्र राख्ने कोसिस गर्ने गर्छन् । एकादशी तिथि यति पवित्र छ कि यस दिन मानिसहरु आफ्नो कर्म तथा बचनलाई पनि ख्याल गर्ने गर्छन् । नराम्रो काम नगर्ने, परनिन्दा साथै क्रोध र हिंसा गर्न चाहँदैनन् । यो दिन भगवान विष्णुको आराधना गरिने र व्रत बसी चोखो फलाहार ग्रहण गर्ने तथा कतिपय ठाउँमा रातभर जागा बसी भगवान विष्णुको भजन कीर्तन गर्ने गर्छन् ।

हरिशयनी एकादशीलाई असारे एकादशी वा देवशयनी एकादशी पनि भन्ने गरिन्छ । यो दिन भगवान विष्णु आराम तथा सुत्न जाने गर्छन्, यो अवधि चार महिना लामो हुने जनविश्वास छ । यो अवधिमा भगवान विष्णु शेषनागमा विराजमान भई क्षीर सागर (दूधको महासागर) मा आराम गर्न जाने गर्छन ।

चार महिना यो आरामको समयलाई चतुर्मास पनि भन्ने गरिन्छ । चार महिनाको आराम पूरा गरिसकेपछि विष्णु जाग्ने दिनलाई प्रबोधिनी एकादशी भनिन्छ । यसदिन भक्तजनले भगवान विष्णु र उनको अनुभूति, देवी लक्ष्मीलाई आफ्नो गहिरो आदर, भक्ति प्रकट गरी, व्रत बसी भगवान विष्णुलाई भोग लगाइसकेपछि मात्र फलाहार ग्रहण गर्ने गर्छन् ।

एकादशीको दिन के के गर्नु हुँदैन ?

जुवातास खेल्नु – जुवातास खेल्दा कतिपय मानिसको घरपरिवार सकिएको छ । परिवार बिग्रको छ । जहाँ जुवातास खेलिन्छ, त्यहाँ अधर्मको बास हुने मान्यता छ । तसर्थ एकादशीमा जुवातास नखेलेको राम्रो ।

जागा बस्ने – यो दिन सुत्न हुँदैन भन्ने प्राचीन मान्यता छ । कतिपय ठाउँमा एकादशीका दिन रातभार जाग्राम बसी भगवान विष्णुको आराधना गर्ने गर्छन् ।

दाँत नमाझ्ने –  एकादशी तिथि रात्रीकालीन अवस्थाबाटै सुरु हुने भएकाले यो दिन मुखमा मन्जन नहाल्ने चलन छ । मन्जन विभिन्न पदार्थको मिश्रणबाट बनाइएको हुन्छ ।

स्त्रीसँग सम्बन्ध नराख्ने –  एकादशीमा मनलाई पवित्र राख्ने गरिन्छ । स्त्रीसँग सम्बध राख्दा मनमा विकार आउनाले भगवानको भक्तिमा ध्यान नपुग्ने भएकाले सहबास राख्न नहुने भनिएको हो ।

क्रोध, हिंसा, चोरी, निन्दा नगर्ने –  शास्त्रअनुसार चोरी, हिंसा गर्नु भनेको पाप हो । चोरी गर्ने व्यक्ति र उसका परिवारलाई समाजले घृणा गर्ने गर्छन् । हिंसा शारीरिक रुपमा मात्र नभएर मनबाट पनि हुने गर्छ, जसले गर्दा मस्तिष्कमा विकार आउने गर्छ । क्रोध र निन्दा गर्दा मनमा नकारात्मक ऊर्जा आउने र भगवानको आराधनामा बाधा पुग्नाले यस्ता कुराबाट टाढै बस्दा राम्रो हुन्छ ।

– राेहित शर्मा