काठमाडौं । नायिका शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीचको विवादमा नयाँ ट्विस्ट देखिएको छ । शिल्पाले पति ओझाले आफूलाई घरेलु हिंसा गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि यो विषय अहिले चर्चामा छ । बिहीबार बिहान निर्माता ओझा काठमाडौं परिसर पुगेर बयान दिएका छन् । साथै, शिल्पालाई उजुरी हाल्न उकासेको आरोप लागेका फोटोग्राफर विकास रौनियार र सम्झना उप्रेती पनि त्यहीँ छन् । छविले आफूले शिल्पालाई थप्पड हानेको स्वीकारे पनि यो विषयलाई उचाल्नेमा विकास र सम्झनाको हात रहेको आरोप लगाएका छन् ।

तीन साता आफूलाई कुनै थाहै नदिई शिल्पा विकास र सम्झनाकहाँ पुगेको र उनीहरूकै उक्साहटमा आफूविरुद्ध उजुरी हालेको छविले क्यानडा नेपाललाई बताए । उनले तीन वर्षसम्म सँगै बसेर शिल्पाले आफूसँग बिहे गरेको उनको भनाइ छ । छवि र शिल्पाबीच २०७३ असार २९ गते बिहे भएको थियो ।

काठमाडौं प्रहरी परिसरमा रहेका विकास रौनियारले आफूहरूले शिल्पालाई उक्साएको नभई घरेलु हिंसा नसहन सुझाव दिएको बताएका छन् । विकास र सम्झना श्रीमान् श्रीमती हुन् । अहिले निर्माता ओझाले प्रहरीलाई बयान दिइरहेका छन् । स्रोतका अनुसार प्रहरीले श्रीमान् श्रीमतीबीचको विवाद भएकाले सहमतिमै समस्या सुल्झाउने प्रयास थालेको छ ।