काठमाडौं । लामो समय मुलुकमा चलेको अस्थिर राजनीतिलगायतका कारण लाखौं मानिस वैदेशिक रोजगारीको शिलशिलामा देश बाहिर रहेका छन् । अहिले पनि वैदेशिक रोजागारीका लागि विदेश जानेको संख्या धेरै नै छ । विदेशमा रहेका स्वदेश फर्कनेभन्दा जानेको संख्या बढी रहेको छ । तर, यसरी विदेशिक रोजगारीको शिलशिलामा गएका कयौं नेपाली कामदार विभिन्न जोखिममा पर्ने गरेका छन् । यसरी जोखिममा पर्नेहरु मध्ये अधिकांश आफ्नै कमजोरी र वैदेशिक रोजागरीमा पठाउने संस्था र रोजगारदाता कम्पनीका कारण हुने गरेका छन् । यसर्थ कामदार आफैं सचेत हुनुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाँदा कामदारले केही कुरामा ध्यान दिन सकिए आफूलाई संकटबाट जोगाउन सक्छन् । यसका लागि विशेषगरी आफूलाई वैदेशिक रोजगारीका लागि पठाउन लागेको संस्था वैदेशिक रोजगार विभागबाट स्वीकृति लिए नलिएको र व्यवसाय सञ्चालन गर्न अनुमति लिए नलिएको बुझ्नु पर्ने हुन्छ । विभागबाट स्वीकृति र सञ्चालन अनुमति नलिएको संस्थाबाट विदेश जानु हुँदैन ।

प्रक्रिया पूरा नगरि विदेश पठाउन खोज्नेहरुबाट सजग रहनु पर्छ । पैसा दिनु अघि प्रक्रियाकाबारेमा जानकारी लिनु पर्ने हुन्छ । १८ वर्ष पूरा नभएकाहरु वैदेशिक रोजगारीमा जानु हुँदैन, यदी कसैले पठाउन खोजेमा पनि जानु हुँदैन । कसैले उमेर बढाएर वा नक्कली कागजात बनाएर पठाउने खोजेमा इन्कार गर्ने र आफू स्वयम् पनि गलत कागजातबाट जाने इच्छा नगर्ने, जसले पछि कुनै अप्ठारोमा पर्ने सम्भावना अधिक हुन्छ ।

एउटा देशको भिषा लिएर अर्काे देशमा पठाउन खोज्नेदेखि सजग रहने र आफ्नै देशको विमानस्थलबाट मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ । वैदेशिक रोजगारीका लागि खुला भएको देश जाने र सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएको देशमा जानु हुँदैन । विज्ञापन निकालेर कामदार बोलाएको संस्थाबाट जाने तथा आफ्नाको कामको प्रकृति, पारिश्रमिक, खाने बस्ने सुविधा भए नभएकोबारे पहिल्यै जानकारी लिने गर्नुपर्छ ।

आफू जान लागेको देश, पठाउन लागेको म्यानपावर कम्पनी, कामको प्रकृति, सुविधा लगायत सबै कुरा परिवारलाई जानकारी लिने गर्नुपर्छ । साथै अभिमुखीकरण तालिम लिने, आफू जान लागेको देशको कानुन, त्यहाँको भौगोलिक, पर्यावरण तथा वातावरणबारे जानकारी लिनुपर्छ । म्यानपावर कम्पनीलाई पैसा दिँदा भरपाई लिने, विदेशमा समस्यामा परेमा सम्पर्क गर्ने व्यक्ति र संस्थाको सम्पर्क नम्बर बोकेर जाने । म्यानपावर कम्पनीसँग सम्झौता गर्दा सम्झौता पत्र राम्रोसँग पढ्ने, नबुझेमा कसैको सहयोग लिने गर्नुपर्छ ।