काठमाडौं । एमाले हुँदादेखि नै केपी ओली र घनश्याम भुसालबीच राम्रो सम्बन्ध थिएन । ओलीको कार्यशैलीलाई लिएर भुसालले कटु आलोचना गर्दै आएका थिए । कतिसम्म भने पार्टीको केन्द्रीय र स्थायी समिति बैठकमा समेत भुसालले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनविरुद्ध फरक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टीको फोरममा मात्र होइन, सार्वजनिक फोरम र मिडियामा समेत भुसालले ओलीको उछितो काढ्ने गरेका थिए । जसलाई लिएर ओली र भुसालबीच एउटै पार्टीका नेता भए पनि संवादहीनता टुटेको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन भए पनि ओलीको कार्यशैली फरक देखिएको छैन ।

पछिल्लो समय ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै रूपमा असुरक्षित रहेका छन् । आफू निकट धेरै नेता उनले गुमाउँदै गएका छन् । पार्टी केन्द्रीय समितिमा समेत उनी अल्पमतमा परेका छन् । त्यसैले अहिले उनले पार्टीभित्र ध्रुवीकरण हुनबाट रोक्न आफ्ना विरोधीसँग पनि छलफल गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टी स्थायी समिति सदस्य भुसालसँग असार २१ गते शनिबार आफ्नो निवास बालुवाटारमा बोलाएर निकै लामो छलफल गरेका थिए । पार्टी अध्यक्ष ओलीसँग भुसालले ६ वर्षपछि तीन घन्टा लामो र गोप्य भेटवार्ता गर्ने अवसर पाएको स्रोतले बताएको छ ।

पार्टी कार्यालय, संसदीय दल, औपचारिक फोरम र सामूहिक रुपमा नेताहरुसंगको औपचारिक फोरमहरुमा जम्काभेट हुनेबाहेक प्रधानमन्त्री ओली र भुसालबीच लामो समयदेखि संवादहीनताको अवस्था थियो । पछिल्लो छलफललाई नेकपाका नेता कार्यकर्ताले अर्थपूर्ण रुपमा हेरेका छन् ।

यसअघि ओली र भुसालबीच २०७० माघ २२ मा संसदीय दलको निर्वाचन हुनुभन्दा केही दिन पहिले यस्तै लामो छलफल भएको थियो । पार्टी एकता लामो समयसम्म नटुंगिएको, राजनीतिक दस्तावेजसमेत प्रकाशनमा नआइसकेको, पार्टी सञ्चालनमा विधि प्रक्रिया र मापदण्डको विषय बारम्बार उठ्दै गएको, पार्टी एकता कमजोर हुँदा सरकारले कतिपय राम्रा काम गर्न खोज्दाखोज्दै पनि आफ्ना निर्णयमा क्रमशः ब्याक हुँदै गएपछि ओली–भुसालबीच भेट भएको हो ।

बालुवाटार स्रोतले प्रधानमन्त्री ओलीले नेता भुसालसँग व्यक्तिगत कुराकानी गर्न खोजेका थिए । तर, भुसालले राजनीतिक विषयमा छलफल गर्न चाहेपछि फेरि कुनै समय भेट गर्ने सहमति भएको बुझिएको छ । ओली र भुसालबीचको भेटवार्ता अहिलेसम्म गोप्य राखिएको छ । पार्टी अध्यक्ष र स्थायी समिति सदस्यबीच हुनु त्यति अनौठो नभए पनि चौतर्फी घेरामा परेपछि प्रधानमन्त्री ओलीले किन भुसालसँग गोप्य भेटवार्ता गरे भन्ने अहिले चासोको विषय बनेको छ ।