काठमाडौं । अमेरिकाको राजधानी वाशिङटन डिसी क्षेत्रमा भीषण बाढी आएपछि जनजीवन प्रभावित भएको छ । वाशिङटन डिसी क्षेत्रमा अचानक आएको बाढीका कारण आपतकालीन स्थिति आएको छ । सडकमा हिँडिरहेका मानिसहरु जोखिममा परेका बीबीसीले जनाएको छ । बीबीसीकाअनुसार ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका छन् भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखापरेको छ । केहीलाई उद्धार गरिएको छ ।

अन्डरपास मार्गहरूमा करिब २ मिटरसम्म पानीको स्तर पुगेको समाचारमा जनाइएको छ । भारी वर्षापछि आएको भीषणबाटका कारण राष्ट्रपति भवन ह्वाइट हाउसमा समेत पानी पसेको छ । यस्तै वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पस्नुका साथै नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भएको छ । यद्यपी त्यहाँ रहेका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित रहेका बीबीसीले उल्लेख गरेको छ ।

मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ। नेसनल वेदर सर्भिसले बाढीको चेतावनी जारी गरेकाले प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सचेत गराएको छ ।