काठमाडौं – विदेशमा गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नदिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन्। विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने, तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ।

वार्षिक करिब ६ हजार नेपाली विद्यार्थी हचुवाका भरमा विदेश लगिन्छन्, उनीहरुमध्ये थोरैले मात्र इन्जिनियरिङ अध्ययनको अवसर पाउँछन्। विषेशगरी भारतमा सञ्चालित विश्वविद्यालयले यस्ता विद्यार्थी लैजाने गरेका छन्। एमबीबीएस अध्ययन गर्न विदेश जानेका लागि नेपाल मेडिकल काउन्सिलले परीक्षा लिने गरेको छ। मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएका मात्रै विदेशमा एमबीबीएस पढ्न जाने व्यवस्था छ।

नेपाल इन्जिनियरिङ काउन्सिल भने मूकदर्शक बनेको सरोकारवालाको आरोप छ। यो खबर आजको नेपाल समाचपत्रमा ईश्वरराज ढकालले लेखेका छन्। कुनै मापदण्ड र परीक्षाबिना नै इन्जिनियरिङ विषयमा अध्ययन गराउन विदेश लगेको विषयमा नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले

इन्जिनियरिङ शिक्षासम्बन्धी विधेयक संसद्मा पुगेको र ऐन आएपछि नियम बनाएर परीक्षा लिनैपर्ने व्यवस्था गर्ने बताए। उनले भने, ‘हचुवाको भरमा विदेशमा इन्जिनियरिङ अध्ययन गर्दा समस्या देखिएको छ।’ तथ्यांकअनुसार इन्जिनियरिङ शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीमध्ये करिब ८० प्रतिशत भारतका विभिन्न विश्वविद्यालय जाने गरेका छन्।

निजी इन्जिनियरिङ कलेजको छाता संगठन एकोनका अध्यक्ष लक्ष्मण पोखरेलले भारतबाहेक अस्ट्रेलिया, अमेरिका, क्यानडालगायका मुलुकमा समेत अध्ययनका लागि विदेश जाने गरेको जानकारी दिए। उनका अनुसार विदेश अध्ययन गर्न जाने विद्यार्थीमार्फत वार्षिक झण्डै ७ अर्ब रुपियाँ विदेशिने गरेको छ।