काठमाडौं । वैदेशिक रोजगारीका लागि जाने कामदारहरुको स्वास्थ्य परीक्षण गरिन्छ । यसका लागि स्वास्थ्य संस्थाहरुले सरकारबाट स्वीकृति लिनु पर्ने हुन्छ । सरकारले स्वीकृति दिएको अर्थात तोकिएको स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएर मात्रै कामदार वैदेशिक रोजगारीका लागि विदेश जान पाउने कानुनी प्रावधान रहेको छ । नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मध्ये एक मलेसिया पनि हो । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदार स्वास्थ्य परीक्षण गर्न स्वीकृति लिन तोकिएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुसँग आवेदन माग गरिएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको चैत १८ सार्वजनिक सूचना प्रकाशित गरि मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाहरुसँग आवेदन माग गरेको थियो । जसअनुसार २ सय ९० वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका सो मन्त्रालयले जनाएको छ । तर, आधाजसो स्वास्थ्य संस्थाहरुले मादण्ड पूरा गरेका छैनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही दिन (२० असार)मा विज्ञप्ति निकालेर आवेदन परेका २९० स्वास्थ्य संस्था मध्ये १ सय ३८ वटाले मापदण्ड पूरा नगरेको जानकारी दिएको हो । ‘मन्त्रालयबाट खटिएको प्राविधिकसहितको टोलीबाट भएको स्थलगत अनुगमन र निरीक्षण प्रतिवेदनको आधारमा विशेषज्ञ समितिबाट भएको सिफारिस बमोजिम विभिन्न १३८ वटा स्वास्थ्य संस्थाहरुले मलेसिया सरकारबाट प्राप्त भए बमोजिम मापदण्ड पूरा नगरेको’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।