काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई–दुईवटा पार्टी कार्यालय छन् । एउटा पूर्वएमालेको धुम्बाराही र अर्को पूर्वमाओवादीको पेरिसडाँडा । तर, केही समययता नेकपाको बैठक पार्टी कार्यालयमा हुन छाडेको छ ।

तत्कालीन एमाले र माओवादीबीच एकता भएपछि अहिलेसम्म एकपटक मात्र केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । पार्टी केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ । लामो समयदेखि नेकपाको स्थायी कमिटीको बैठकसमेत बस्न सकेको छैन ।

अहिले नेकपाका एक अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका ओलीले बालुवाटारमा आफू निकट नेताहरूको बैठक राख्ने गरेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आफ्नै निवास खुमलटारमा पार्टी नेताहरूको बैठक राख्ने गरेका छन् । तर, खुमलटारमा पूर्वमाओवादीको भेला भएको सूचना पाउना साथ बालुवाटारले चियोचर्चा र सोधखोज गर्न थालेपछि प्रचण्ड असन्तुष्ट बनेका छन् ।

पछिल्लो केही समययता प्रचण्डले नयाँ बानेश्वरस्थित अर्याल होटललाई मिटिङ प्वाइन्ट बनाएका छन् । अर्याल होटलमा लामो समयदेखि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरूको भेटघाट र गोप्य बैठक बस्दै आएको छ । अहिले अर्याल होटलमा दैनिकजसो प्रचण्ड, माधव नेपाल र गृहमन्त्री रामबहादुर थापा बादलबीच ‘गोप्य बैठक’ बस्ने गरेको समाचार स्रोतले जनाएको छ ।

कहिलेकाहीँ त दुई घन्टाभन्दा बढी पनि सो होटलमा नेकपाका शीर्ष नेताहरू बस्ने गरेको बुझिएको छ । नेकपामा अहिले सरकार फेरबदल कि मन्त्रीहरूको मात्र हेरफेर ? भन्ने विषय छलफलमा आएको छ । प्रधानमन्त्री ओली केही थान मन्त्री फेरबदल गर्नुपर्ने अडानमा छन् भने प्रचण्डले ओलीलाई सरकार र पार्टी सञ्चालन गर्न नसकेको भन्दै चाँडै प्रधानमन्त्रीको पद हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड, नेपाल र बादलबीच ओलीलाई कसरी प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकबाट ब्याक गराउने भन्ने रणनीति बनाउन दिनहँुजसो बैठक हुने गरेको नेकपा काठमाडौंका एक नेताले बताए । सो बैठकमा नेकपाका प्रभावशाली नेता मानिने वामदेव गौतम पनि बेलाबेला सहभागी हुने गरेको बताइन्छ ।