काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण गर्न आएको चिनियाँ टोलीले बिहीबारदेखि विधिवत रूपमा काम सुरु गर्ने भएको छ । गत शनिबार नेपाल आइपुगेको चिनियाँ भूगर्भविद्हरुको टोलीले आजदेखि औपचारिक रुपमा काम सुरु गर्ने भएको हो ।

प्राविधिकको तीन टोलीले बुटवल, पाल्पा तथा दैलेखको पादुकामा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्ने खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक तथा पेट्रोलियम अन्वेषण आयोजना प्रमुख सुधिर रजौरेले जानकारी दिएका छन् ।

नेपालको पाल्पा, बुटवल, दैलेख लगायतका स्थानमा पेट्रोलियम पदार्थ रहेको अनुमान लगाईएपनि औपचारिक काम भने अघि बढ्न सकेको थिएन । तसर्थ यसपाली भने चिनियाँ तीन टोलीले तीन वर्षसम्म ड्रिलिङ गरेर विभिन्न तीन क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार क्षमता तथा आर्थिक रुपमा सम्भाव्य छ या छैन भनेर जाँच गर्नेछन् ।

दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचुर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताएका छन् ।

सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ । दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ । त्यसपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा ‘ड्रिलिङ’ काम सुरु गरिने छ । जमिनबाट चार दशमलव चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ ।

२०७२ सालमा प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो कार्यकालमा नेपाल चीनबीच पेट्रोलियम अन्वेषण गर्ने सम्बन्धी सम्झौता गरेका थिए । सोहीअनुसार अघिल्लो वर्षको फागुन १६ गते चाइना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागबीच चीनमा खानी अन्वेषण गर्ने सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।