काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।
‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने । सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ ।

अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट चार लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यसपटकको एसईई परीक्षामा दुई व्यक्तित्व निकै चर्चामा आएका थिए । उनीहरू हुन्, नेकपाकी सांसद शान्ता चौधरी र नायिका करिश्मा मानन्धर । उमेरले दुवैजना वयस्क हुन् । शान्ता र करिश्मा दुवैका छोराछोरीले उच्च शिक्षा हासिल गरिसकेका छन् । प्रौढ अवस्थामा एसईई दिएकाले उनीहरू नतिजाको व्यग्र प्रतीक्षामा बसेका छन् । सांसद चौधरी र नायिका करिश्मा मानन्धरले एसईई पास भएमा उच्च शिक्षाका लागि आफूहरूलाई बाटो खुल्ने बताएका छन् ।

पास र फेलको अवधारणा हटाए पनि डी प्लस अर्थात् जीपीए १ दशमलव २५ देखि १ दशमलव ६–० भन्दा मुनिका विद्यार्थी माथिल्लो कक्षा चढ्न पाउँदैनन् । परीक्षामा अंग्रेजी, गणित र विज्ञान विषयमा धेरै विद्यार्थी कम ग्रेड ल्याउने कारण माथिल्लो कक्षामा पढ्न नपाउने चिन्ताले धेरैलाइ सताउँछ । तर त्यस्ता विद्यार्थीका लागि पनि सीप र दक्षताअनुसारको गरिखाने शिक्षा उपलब्ध भएकाले निरास हुनु नपर्ने शिक्षाविदको सुझाव छ ।