१. जंगबहादुर राणाले नेपालमा गिद्दे प्रेस (हाते छापाखाना) भित्र्याए, त्यसपछिका आजसम्म भित्रिएका प्रेस सबै हाते प्रेस हुन् | नेपालमा कहींकतै पूर्णतया डिजिटल प्रेस छैनन् |

२. नेपालको भूगोल, जनसंख्या, शिक्षित र साक्षर दर आदि हेरेर सरकारले समेत ठूलो लगानीका प्रेस भित्र्याउन सकेन, कुनै निजी कम्पनीले ठूलो चासो देखाएनन् किनकि यसमा लगानी जोखिम छ |

३. नेपालमा संचालनमा आएका भृकुटी,एभरेस्टजस्ता कागज कारखाना बन्द गराइए | साझा र जनक शिक्षा सामग्री केन्द्रजस्ता सरकारमातहत संचालन हुने प्रकाशन गृहमा भ्रष्टाचारका कारण ताला लागे |

३. निजीस्तरमा संचालन भएका टोलटोलका प्रेसले आजको विश्वबजारको गुणस्तर दिन असमर्थ छन् किनकि ती प्रेससंग नयाँ डिजिटल मेसिन छैनन्, गुणस्तरीय कागज आयात गर्न सक्ने क्षमता छैन, मसी छैन | अझै कालिगढ़को हकमा त झन् दयनीय अवस्था छ, हातमा थुक लगाएर खैनी माड्दै काम गर्ने मजदूरमात्रै छन् | १ हजारवटा किताब छाप्दा हजारवटैको छपाइ, कटाइ र ब्यांडिंग हजार तरिकाको हुन्छ | अझ धेरै किताब छाप्दा तोकिएको समयमा किताब छाप्न सक्दैनन् |

४. भारतमा किताब छपाइ सस्तो छैन, महँगो छ तर विश्वस्तरीय गुणस्तरको छ | विश्व बजारमा उत्पादन भएका कुनै पनि वस्तुको उच्चगुणस्तरको उपभोग नेपाली उपभोक्ताले गरिरहेका छन् भने गुणस्तरीय किताब छाप्दा झन् खुशी हुनुपर्छ | र, अर्को कुरा नेपाली प्रकाशकको हकमा २०६४ सालदेखि १५ प्रतिशत कर तिर्दै आइरहेका छन्, यसलाई बिर्सनु भएन |

५. नेपालमा आयात हुने ९५ प्रतिशत किताब स्कूल, कलेज र विश्वविद्यालयका हुन् | क्याम्ब्रिज, अक्सफोर्डलगायतका प्रकाशकका किताब नेपालमा पढाइ हुन्छन् | तिनमा कर लगाउँदा अन्ततः भार अभिभावकमा पर्ने हो | पेङ्गुइन, रूपा, राउट्लेजलगायतका साहित्यिक प्रकाशकका किताब नेपालमा आयात हुन्छन् | यिनमा कर लगाउंदैमा ती प्रकाशकले नेपालमा आएर यहाँका छापाखानामा किताब छाप्ने होइनन् | यसरी कर लगाउँदा पुस्तकको मूल्य बढ्न गई क्रय क्षमता घट्छ, पठन संस्कृतिमा असर पर्छ | अनि, झनै दयनीय हुन्छ, नेपाली प्रिन्टिंग प्रेसको अवस्था |

६. संसारभर कहीं पनि किताब आयात-निर्यातमा कर छैन | तर, नेपालमा मात्रै यस्तो दुस्साहस भैरहेको छ |

७. ज्ञानमा कर लगाउन नपाइने विश्वव्यापी मान्यतालाई आत्मसाथ गर्दै नेपालले युनेस्को, डब्लुटिओ, वाइपोका नीतिनियममा हस्ताक्षर गरी सदस्य राष्ट्र भएको हो |

८. त्यसैले सरकारले किताबमा १० प्रतिशत कर लगाउने नीति ज्ञानमा ताल्चा ठोक्ने काम हो र घुमाउरो तरिकाले नैसर्गिक हकमाथिको बन्देज हो | यो कालान्तरमा राष्ट्रिय लज्जामात्रै होइन, अन्तर-राष्ट्रिय लज्जाको विषय बन्छ | त्यसैले किताबमाथिको कुनै पनि कर बिनासर्त फिर्ता हुनुपर्छ | नभए निकट भविष्यको परिस्थिति भयावह हुन सक्छ |

  • भुपेन्द्र खड्काको फेसबुकबाट