काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मंगलबार ५ बजे पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल कांग्रेसको कार्यशैलीको विरोध गर्ने स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई संसद बैठकमा बोल्न नदिएको भन्दै सत्तारुढ नेकपाले कांग्रेसको विरोध गरेको छ ।

प्रधानमन्त्री ओलीले गुठसम्बन्धी विधेयकबारे सरकारको धारणा प्रस्ट पार्न पनि पत्रकार सम्मेलन गर्न लागेका हुन् । विधेयकको विरोधमा बुधबार बिहान राजधानी काठमाडौंमा विशाल विरोध प्रदर्शन हुँदैछ । सो विरोध प्रदर्शनलाई मत्थर पार्न पनि प्रधानमन्त्रीले आकस्मिक रूपमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओली गुठी विधेयक स्थगित गर्न पक्षमा नरहेको बुझिएको छ । देशभरि नै गुठी विधेयकको पक्षमा माहोल बनाउन पार्टी कार्यकर्तालाई सर्कुलर जारी गरिएको छ । जसअनुसार सोमबार दाङमा गुठी विधेयकको पक्षमा प्रदर्शन भएको थियो । त्यस्तै, बुधबार (आज) सिन्धुपाल्चोकमा विधेयकको पक्षमा प्रदर्शन हुँदैछ ।