काठमाडौं । समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफत्ती गरेर अमूल्य समय र स्रोत खेर फाल्नु शोभनीय नभएको टिप्पणी गरेका छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा सुरुमै सम्बोधन गर्न रोस्ट्रम पुगेका प्रधानमन्त्री केपी ओली कांग्रेस सांसदको नाराबाजीका कारण बोल्न पाएनन् । यही विषयलाई लिएर संसद् बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद् गैरजिम्मेवार र निष्प्रभावी बन्न नहुने उल्लेख गरेका छन् । मंगलबार ट्विटमार्फत उनले भनेका छन्, ‘संसदमा को पहिले बोल्ने भन्ने मुद्दामा गलफत्ती गरेर अमूल्य समय र स्रोत खेर फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजनलगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद् गैरजिम्मेवार र निष्प्रभावी नबनोस् ।’