कतिपय ग्रामीण समुदायमा घरपरिवारले गर्भवतीको स्वास्थ्यको उति वास्ता गर्दैनन् । ‘वंशको रक्षा गर्ने गरी छोरा जन्माइन्’ भने मात्रै उनको हेरविचार हुन्छ । यस्तै कारणले गर्दा धेरै महिला रक्तअल्पताको सिकार हुन्छन् । तर, जुनसुकै महिला रक्तअल्पताको सिकार हुनुको अर्थ हो— शरीरमा लौहतत्त्वको मात्र होइन, प्रोटिनको पनि कमी हुनु । त्यस्ता गर्भवतीलाई भिटामिन, क्याल्सियम र अन्य पोषक तत्त्वको पनि कमी हुन्छ, किनभने उनले घरमा भएका स्वस्थकर खानेकुरा पनि पेटभरि खान पाएकी हुन्नन् ।

सन् २००६ मा सरकारले गरेको अध्ययनअनुसार नेपालमा गर्भवतीमध्ये ३६ प्रतिशतमा रक्तअल्पता भएको पाइएको थियो। यसैगरी आइरन चक्की बाँडिरहको अवस्थामा सन २०१६ मा गरेको अर्को अध्ययनमा यसको संख्या बढेर ४१ प्रतिशत पुगेको छ। यो अध्ययनले पनि के देखाउँछ भने आइरन चक्की बाँड्दैमा रगत बढ्ने होइन रहेछ। योसँगै जोडिएका कैयौँ कुरा छन् भन्ने यो गतिलो उदाहरण हुनसक्छ।

अझ प्रदेश २ मा त ५५ प्रतिशत गर्भवतीलाई रक्तअल्पता छ। खाद्यपदार्थका कतिपय विज्ञापनमा ‘घरमा भएका खानेकुराले बच्चालाई र गर्भवतीलाई पोषण पुग्दैन, त्यसैले बाहिरको पोषण किनेर क्याल्सियम र आइरन तत्त्व तिनको पोषण पुर्‍याउनुपर्छ’ भनिएको हुन्छ । यस्ता गलत विज्ञापनले मानिसहरूमा भ्रम छरिरहेका छन्, किनभने यिनलाई स्वास्थ्यकर्मीले पनि गलत भन्ने गरेका हुन्नन् । प्याकेटका खानेकुरा किन्दा पैसाको दुरुपयोग मात्रै हुन्छ ।

बकुला, सिमी, बोडी जस्ता तरकारीमा पर्याप्त प्रोटिन त पाइन्छ नै, क्याल्सियम र लौहतत्त्व पनि धेरै हुन्छ । तिनको मूल्य बजारिया वा विदेशी संस्थाहरूले दिने खानेकुराभन्दा निकै कम हुन्छ, पोषणचाहिँ बढी हुन्छ । गेडागुडीलाई उमारेर पकाउनाले यसमा पौष्टिक तत्त्वको मात्रा बढ्छ । पाकिसकेपछि अलिकता कागतीको अमिलो वा गोलभेंडा हालिदिनाले भिटामिन सीले यिनमा रहेको लौहतत्त्व राम्ररी सोसिन पाउँछ । त्यसैले होला, पहिले–पहिले दालभात, साग, अमिलो मोही खाने चलन थियो ।

स्वास्थ्य मन्त्रालय चाहिँ गर्भवतीलाई आइरन चक्की दिएर नै रक्तअल्पता कम हुन्छ भनी जताततै आइरन चक्की बाँड्छ । कति महिलालाई त्यसले वाकवाकी लाग्छ, अनि खान छोड्छन् । अहिले त कतिपय प्रदेशमा किशोरीलाई समेत आइरन चाहियो भन्दै फोलिक एसिड बाँड्ने कार्यक्रम चलाउने रे ! मानव पोषणलाई टुक्रा–टुक्रामा विचार गरेर, टुक्रे–टुक्रे कार्यक्रम गरेर महिला र किशोरीको स्वास्थ्य रक्तअल्पता कम हहुँदैन । रक्तअल्पता सामाजिक समस्या हो र आइरन चक्की बाँडेर समाधान हुँदैन भनी यो मन्त्रालयले कहिले बुझ्ने होला ? डा.अरूणा उप्रेतीको फेसबुकबाट