काठमाडौं । केही वर्ष अगाडि पोखरामा कन्सर्टका लागि आएका आदित्यनारायण झा काठमाडौका संगीतप्रेमीमाझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता आदित्य राजधानीको ठमेलस्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन् । गायकसँगै एक्टरसमेत रहेका आदित्य प्रसिद्ध गायक उदितनारायण झा र दीपा झाका छोरा हुन् ।

सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्ममार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् । उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।

क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट एक हजार र भिआइपी १५ सयको राखिएको छ । कार्यक्रमकै समयमा टिकट खरिद गर्न गएमा यसमा पाँच सय थप लाग्नेसमेत आयोजकले जनाएको छ । आदित्यले पनि आफू नेपाल आउन लागेकोमा खुसि व्यक्त गरेका छन् । उदितका छोरा भएकाले पनि आदित्यलाई नेपालमा विशेष महत्वका साथ हेर्ने गरिन्छ भने युवापुस्तामाझ उनको क्रेज राम्रो छ । आदित्यलाई डिमान्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।

आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू, आशीर्वादको पानी घट्ट, रामलीलाको इस्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् । उनले धेरै कभर गीत गाएका छन् । बलिउडमा प्राय पाश्र्व गायकको गीत गाउन सक्ने मानिने आदित्यले केही दिनमै भिडियो सन्देशमार्फत सम्बोधन गर्नेसमेत आयोजकले जनाएका छन् ।