काठमाडौं । राजा महेन्द्र शाहको जन्म १९७७ जेठ ३० गते शुक्रबार भएको थियो । यस आधारमा आज उनको सयौं जन्म जयन्ती मनाइँदैछ । धेरैले बुधबार (जेठ २९ गते) नै महेन्द्रको सयौं जन्म जयन्ती भनेर मनाए पनि । पूर्वराजा ज्ञानेन्द्र शाहले बिहीबार आफ्नो बाबुको जन्म जयन्तीबारे सम्झना गरेका छन् । पूर्वराजाले सामाजिक सञ्जाल ट्विटरमार्फत महेन्द्रको सम्झना गरेका हुन् । उनले आफ्नो बाबुले देखाएको बाटोमा आफू हिँडेको उल्लेख गरेका छन् ।

उनले महेन्द्रको जन्म जयन्ती मनाउनु मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै उनको विचार र कार्य अनुशरण गर्नु ठूलो भएको बताएका छन् । आफ्नो बाबुको जन्म जयन्ती मनाएकोमा पूर्वराजाले सबैलाई धन्यवाद दिँदै आफूले सम्झिरहेको उल्लेख गरेका छन् । राजा महेन्द्र कवि र गीतकार पनि हुन् । उनी मविवि शाहको नामले समेत परिचित छन् ।

उनको ‘म मरे पनि मेरो देश बाँची रहोस्,’ भन्ने गीत निकै चर्चित छ । २०१७ पुस १७ गते निर्वाचित सरकार अपदस्थ गरी पञ्चायती शासन व्यवस्था सुरुवात गरेका महेन्द्रले उत्तरी नाकाबाट भारतीय चेकपोस्ट फिर्ता, मन्त्रिपरिषदमा भारतीयको उपस्थिति अन्त्य, कोदारी राजमार्ग, महेन्द्र राजमार्ग, प्रभावशाली विदेश नीति, राष्ट्रिय उद्योग प्रोत्साहन गर्नेलगायतका काम गरेका थिए