काठमाडौं । मेमे नेपालका प्रनेश गौतम साइबर क्राइम मुद्दामा विगत ६ दिनदेखि प्रहरी हिरासतमा छन् । ‘वीर विक्रम २’ सिनेमा समीक्षा गर्दा आफ्नो चरित्रहत्या गरेको, गालीगलौज गरेको, रंगभेद निम्त्याउन खोजेकोलगायतका आरोप लगाउँदै निर्माता निर्देशक मिलन चाम्सले प्रहरीमा उजुरी दिएपछि गौतमलाई प्रहरीले हिरासतमा राखेको हो ।

प्रनेश गौतम पक्राउ र हिरासतसम्बन्धी विषयले अहिले ठूलो प्रकरणको रूप लिँदै गएको छ । सामाजिक सञ्जाल र मिडिया सबै प्रनेशको रिहाइको माग गर्दै आन्दोलित भएका छन् । सुरुमा चुपचाप बसेको सिने क्षेत्र पनि अहिले दुई ध्रुवमा बाँडिएको छ । नेपाली राजनीतिक दलका नेता पनि यसमा समावेश भएपछि मिलन चाम्सले दबाब महसुस गर्दै बुधबार पत्रकार सम्मेलन गरे ।

पत्रकार सम्मेलनमा निर्देशक चाम्सले प्रनेश गौतमको छिट्टै रिहाइ हुने र आफूहरू त्यसका लागि लागिरहेको बताए । केही कुरामा आफूहरूको चरित्रहत्या भएको महसुस गरेपछि के के कारबाही गर्न सकिन्छ भनेर जिल्ला प्रहरी कार्यालय हनुमानढोका पुग्दा प्रहरीले नै बुँदागत जाहेरी बनाएर गौतमलाई पक्राउ गरी हिरासतमा राखेको उनको भनाइ छ । उनले आफूले प्रनेशलाई माफी दिइसकेको समेत बताए । प्रनेशलाई सोमबार नै रिहा गरिने तयारी भए पनि रोकिनुमा प्रहरीको ‘निजी इन्ट्रेस्ट’ रहेको देखिएको छ ।

निर्देशक चाम्सले आफू प्रनेश र उनका परिवारसँग बारम्बार सम्पर्कमा रहेको उल्लेख गर्दै केही विषय प्रहरीकै अधिकारभित्र पर्ने गरेको उनको संकेत थियो । आफूहरूले प्रनेशलाई साइबर क्राइमअन्तर्गतको मुद्दा दायर नगरेको मिलन चाम्सको भनाइलाई आधार मान्दा प्रहरीले प्रनेशलाई थुनिराख्नु जरुरी छैन । तर, किन प्रहरीले छाड्न नमानेको होला ? यो नै अहिले खोजीको विषय भएको छ ।

प्रहरीले मिडिया र पत्रकारलाई विद्युतीय कारोबार ऐनअन्तर्गत जसलाई जुन बेला मन लाग्यो त्यही बेला पक्राउ गरी थुन्न खोजेको देखिन्छ । प्रनेश गौतम पनि त्यसकै सिकार भएको अनुमान गरिएको छ । यदि विद्युतीय कारोबार ऐनमा रहेको चरित्रहत्या, गालीगलौजलगायतका मुद्दामा प्रहरीलाई कारबाही गर्न दिइएको असीमित अधिकार खारेज नगरेमा प्रेस स्वतन्त्रताको घाँटी निमोठिने संकेत प्रनेश गौतम प्रकरणले दिएको छ ।

यो भिडियो पनि हेर्नुहोस्